सामाजिक फीड,
काठमाडाैँ, २१ फागुन । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीबीच दुई–दुई वर्ष प्रधानमन्त्री बन्ने सहमति भएको छ ।
नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाएका प्रधानमन्त्री दाहालले पहिलो दुई वर्ष आफू नै प्रधानमन्त्री रहने र त्यसपछिका दुई वर्ष ओलीलाई प्रधानमन्त्री पद दिन सहमत भएका हुन् । गत वर्ष पुस १० गते माओवादी अध्यक्ष दाहाल एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए ।
त्यतिबेला ओली र प्रचण्डका बीचमा साढे २ वर्ष/ साढे २ वर्ष प्रधानमन्त्री हुने सहमति भएको थियो । तर दुई महिनामै दाहालले गठबन्धन तोडेर कांग्रेसको साथ लिएपछि एमालेले सरकार छोडेको थियो । एमाले सरकारबाट बाहिरिएको एक वर्षपछि फेरि पुरानो गठबन्धन ब्युँत्याएर सरकारमा सहभागी हुने निर्णय भएको हो ।
कांग्रेससँग गठबन्धन हुँदा दुई वर्ष दाहाल, एक वर्ष माधवकुमार नेपाल र दुई वर्ष शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति भएको थियो । नयाँ गठबन्धनसँगै दाहाल थप दुई वर्ष प्रधानमन्त्री बन्ने हुन् ।