Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, फागुन २१ गते ।

मधेश प्रदेशमा समेत नयाँ गठबन्धनको सरकार बनाउन सहमती भएको छ ।

संघमा नयाँ गठबन्धनबाट संघीय सरकार गठन गर्ने समझदारी बनेसँगै प्रदेशहरूमा पनि नयाँ गठबन्धन दलहरूबाटै मुख्यमन्त्री बनाउने तयारी सुरु भएको हो ।

प्रदेश सरकारबाट नेपाली कांग्रेसलाई हटाएर नयाँ सत्ता गठबन्धनमा समावेश भएका दलहरुबाट मन्त्रालय भागबण्डा गरिनेछ ।

कांग्रेस प्रदेश सरकारबाट आफै हट्ने वा मुख्यमन्त्रीले निर्देशन दिएपछि आफै राजीनामा दिने विषयमा अहिले छलफल भइरहेको कांग्रेसबाट प्रदेशको गृह तथा संचारमन्त्री मो.समिमले बताए ।

यद्दपी मधेश प्रदेशमा भने मुख्यमन्त्री फेर्ने सम्भावना कम रहेको माओवादीका एक नेताले समाजिक फीडलाई बताए ।

ती नेताका अनुसार सत्ताघटक नेकपा माओवादी केन्द्रको बालुवाटारमा सोमबार बसेको पदाधिकारी बैठकमा नयाँ गठबन्धनअनुसार संघीय सरकार र प्रदेश सरकार गठन गर्ने ब्रिफिङ प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन्।
बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै माओवादीका सचिव देवेन्द्र पौडेलले नयाँ शिराबाट अघि बढ्ने निर्णय भएको बताए।

‘नयाँ शिराबाट मन्त्रिपरिषद पुनर्गठन गर्छौं। राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्ष पनि नयाँ शिराबाट छलफल गरी अघि बढाउँछौं। त्यति मात्र होइन, प्रदेशहरूमा पनि आलोपालोका आधारमा हामी अगाडि बढाउँछौं। त्यसका लागि बालुवाटारमै माओवादी, एमाले र रास्वपासहितको बैठक बस्दैछ,’ उनले भने।

कोशीमा कांग्रेसका केदार कार्की, मधेसमा जसपाका सरोजकुमार यादव, बागमतीमा माओवादीका शालिकराम जम्कट्टेल, गण्डकीमा कांग्रेस सुरेन्द्रराज पाण्डे, कर्णालीमा माओवादीका राजकुमार शर्मा, लुम्बिनीमा कांग्रेसका डिल्लीबहादुर चौधरी, सुदूरपश्चिममा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *