सामाजिक फीड,
काठमाडौँ, २० फागुन । सहमति जुटेपछि दुग्ध किसानहरूले आन्दोलन फिर्ता लिएका छन् । कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालको उपस्थितिमा दुग्ध विकास संस्थान, डेरी उद्योग र दुग्ध किसानका प्रतिनिधिहरूबीच पाँचबुँदे सहमति भएको हो । वार्तामा किसानहरूलाई उद्योगीहरूले २०८० चैत २१ गतेसम्म सबै बक्यौता तिरिसक्नेलगायतका सहमति भएका छन् ।
दूध बेचेको पैसा नपाएपछि किसानहरू आन्दोलित थिए । उनीहरूले आन्दोलनलाई सोमबारदेखि काठमाडौँमा केन्द्रित गर्ने घोषणा गरेका थिए । विभिन्न जिल्लामा दूध पोखेर विरोध जनाउँदै आएका किसानहरूमाथि परेको मर्काको विषय सांसदहरूले प्रतिनिधि सभाको बैठकमा समेत राख्ने गरेका थिए । यसै विषयमा केन्द्रीय दुग्ध सहकारी संघमा आबद्ध किसान प्रतिनिधि, दुग्ध विकास संस्थान (डीडीसी) डेरी उद्योगीका प्रतिनिधि, मन्त्रालयका सचिव समेतका कर्मचारीहरुबीच शनिबार वार्ता भएको थियो ।
वार्तामा कृषि मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेल, केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवर, डेरी एशोसिएसनका अध्यक्ष प्रह्लाद दाहाल र पूर्वअध्यक्ष सुमित केडिया, डेरी उद्योग संघका अध्यक्ष राज कुमार दाहाल र पूर्वअध्यक्ष अरनिको राजभण्डारी, राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. बालक चौधरी, पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहाल, दुग्ध विकास संस्थान (डीडीसी)का उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारी लगायत सहभागी थिए ।
