समाजिक फीड
जनकपुरधाम, फागुन २० गते ।
राष्ट्रिय सभाका २० जना सांसदको पदावधि आज सकिएको छ । सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसदहरुको आज विदाइ र नवनिर्वाचित सदस्यहरुको स्वागत हुँदै छ ।
२०७४ सालमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएर ६ वर्ष कार्यकाल पूरा गरेर विदा हुनेहरुमा सबैभन्दा धेरै नेकपा एमालेका ९ जना सदस्य छन् ।
उनीहरुमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, दीपा गुरुङ, इन्दु कडरिया, दीलकुमारी रावल (पार्वती), कुमार दसौंदी, नरपति लुवार, भैरवकुमार श्रेष्ठ र रामचन्द्र राई छन् । एमालेकै कोटामा राष्ट्रपतिबाट मनोनित विमला राई पौड्यालको कार्यकाल पनि आज सकिएको छ ।
त्यस्तै नेपाली कांग्रेसका चार सांसदहरू रमेशजंग रायमाझी, अनिता देवकोटा, जितेन्द्रनारायण देव र प्रकाश पन्थ पनि राष्ट्रिय सभाबाट बिदा भएका छन् ।
माओवादी केन्द्रका विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा विदा भएका छन् ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका नन्दा चापाई, सिंगबहादुर विश्वकर्मा, खिमलाल देवकोटा र जसपाकी प्रमिला कुमारी पनि राष्ट्रिय सभा सदस्यबाट विदा भएका छन् ।
रिक्त २० मध्ये १९ जना सदस्य गत माघ ११ मा सम्पन्न निर्वाचन चुनिएका छन् भने एक जना मन्त्रिपरिषदको सफारिसमा राष्ट्रपतिबाट नियुक्त हुनेछन् । नवनिर्वाचित सदस्यहरुको शपथ ग्रहण भने सोमबार बिहान साढे १० बजे संसद भवनको ल्होत्से हलमा हुनेछ ।
आज बेलुका साढे ६ बजे सिंहदरबार नजिकैको रहेको बुटिक होटेल बसेरामा विदाइ र स्वागतको अनौपचारिक कार्यक्रम आयोजना गरिएको छ ।