Samajik Feed – News Portal from Nepal


समाजिक फीड

जनकपुरधाम, फागुन १८ गते ।

नेपाल भारत सिमामा पर्ने धनुषास्थित जमुनी नदीमा निर्माण भइरहेको चारवटा पुल अलपत्र पर्दा सर्वसाधारणलाई सास्ती खेप्नु परेको छ ।

मुखियापट्टी मुसहरनियाँ गाउँपालिका र नगराइन नगरपालिकामा निर्माण सुरु गरिएको पुल अलपत्र पर्र्दा सर्वसाधारणले हैरानीका भोग्नुका साथै वर्षा याममा खतरा मोलेर नदी आरपार गर्नुपरेको हो ।

सीमावर्ती क्षेत्रका बासिन्दालाई नदी पारी खेतसँगै हाटबजार, उपचार लगायतका काममा भारतीय बजार जान पायक पर्छ। जमुनीमाथी पुल नभएकाले स्थानी दैनिकी कठिन बनेको छ।

सरकारी निकायको चरम लापरबाहीले निर्माण सुरु गरिएको तीनवटा पक्की र एउटा झुलुंगे पुल नबनेको हो । जनकपुर–जटही ६ लेन सडकमा पर्ने जमुनी खोलाको पुल, लगमा बनाउन लागेको झोलुङे पुल, जमुनी घाटको र अखडा घाटमा पुल बनाउने निर्णय गरेर निर्माण थालिएको छ।

जनकपुर–जटही सडकखण्डमा पर्ने जमुनी नदीको ६ लेन पुल निर्माणका लागि १ मार्च २०१९ मा ठेक्का सम्झौता भएको थियो। रमण कमल जेभी जनकपुरले २५ अगस्त २०२३ सम्म निर्माण सम्पन्न गर्ने भन्दै ठेक्का सम्झौता गरेको थियो। तर निर्माण सुरु भएको केही दिनपछि त्यहाँका एसएसबीले अवरोध गरेपछि पुल अधुरै रह्यो ।

दसगजा नजिकै रहेको जटहीको भन्सार कार्यालयसम्मै धनुषातिर ६ लेनको सडक छ। दसगजामा पुल बनाएर नेपालले भारतको पिप्रोनलाई त्यही सडकसँग जोडन खोजेको हो। भारतसँग आयात–निर्यात गर्न सजिलोका कारण ढल्केवर–जनकपुर–जटही ६ लेनको सडक निर्माण गरिएको छ।

जटहीको पुल पनि निर्माण कार्य रोकिएपछि मालवाहक गाडी जटही नाकाबाट आउजाउ गर्न मिल्दैन।

परिक्रमा सडकमा समेत पर्ने जमुनी नदीको थलही घाटको पुल अलपत्र परेको हो । ब्रजगुरू मैलङसुग जेभी जनकपुरले ५० मिटर लामो यो पुल निर्माणका लागि सडक डिभिजन कार्यालय जनकपुरसँग ३१ जुलाई २०१४ मा ठेक्का सम्झौता गरेको थियो।

उक्त पुल १२ फ्रेब्रुअरी २०२१ मा निर्माण सम्पन्न भइसक्नुपर्ने थियो। तर आधा मात्रै निर्माण कार्य हुन सकेको छ।

अखाडा घाटको पुलको काम पनि रोकिएको छ। रमन कमल जेभी जनकपुरले यो पुल निर्माणका लागि २१ मे २०१७ मा सडक डिभिजन कार्यालयसँग सम्झौता गरेको थियो।

कार्यालयका सूचना अधिकारी यादवका अनुसार उक्त पुल २५ अगस्त २०२३ मा उक्त पुल निर्माण गरिसक्नुपर्थ्यो। तर ६० मिटर लम्बार रहेको उक्त पुलको ५५ प्रतिशत मात्रै भौतिक मात्रै हुन सकेको सडक डिभिजन कार्यालय जनकपुरका सूचना अधिकारी इन्जिनियर सञ्जयकुमार यादवले बताए।

झुलुंगेसहित चारवटै पुल भारतसँग अनुमति नलिइ योजना बनाएर पुल निर्माण सुरू गरिएकाले एसएसबीले अवरोध गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रापाणी पाण्डेले बताए ।

‘बिनाअनुमती दुई देशको सीमामा त्यसरी पुल बनाउनै पाइँदैन। त्यतिबेला कसरी योजना बन्यो मलाई थाहा भएन,’ उनले भने, ‘अहिले यसको सबै रिपोर्टिङ परराष्ट्र मन्त्रालयको सचिवस्तरीय बैठकमा हामीले गरेका छौं। नेपाल भारतको परराष्ट्र मन्त्रालयको सचिवस्तरीय बैठकमा यो एजेन्डा पुगिसकेको छ। यो सिडियो र डिएमस्तरबाट समाधान हुने समस्या पनि होइन। कूटनीतिक बाटोबाट दुई देशबीच टुंगो लाग्ने कुरा हो।’

सडक डिभिजन, जिल्ला प्रशासन हुँदै परराष्ट्र मन्त्रालयसम्म धाउँदा समेत पुलको काम अगाडी बढ्न नसकेको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका अध्यक्ष जयकुमार यादवको भनाइ छ।

‘जमुनी र जटही दुइटै पुलको पिलर भारतीय भूमीमा पनि छ। निर्माण सुरू हुँदा त्यतीबेला त कसैले केही भनेन् तर पछि एसएसबीले अवरोध गर्न थाले। हामीले बुझ्दा भारत सरकारले देशभर भारतीय भूमिमा समेत पिलर पर्ने सबै पुलको काम गर्न रोक लगाउने सर्कुलर जारी भएको रहेछ,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *