Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, फागुन १७ गते ।

मधेश प्रदेश सरकारमा सहभागी गठबन्धन दलहरुबीच तिब्र असन्तुष्टि चुलिएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेश प्रदेश सरकारमा अहिले पाँचवटा दल सहभागी छन् भने बाँकी साना दलहरुको समर्थन छ ।

तर मन्त्रालयको भागबण्डा, समन्वय र सहकार्यको विषयमा दलहरुबीच कुरा नमिल्दा गठबन्धनभित्र किचलो भएको हो ।

जसपा नेतृत्वको प्रदेश सरकारमा कांग्रेस, माओवादी ९केन्द्र०, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा (एस) गठबन्धनको सरकार छ ।

मधेश प्रदेश सरकारलाई साना दल राप्रपा, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थन छ । तर मुख्यमन्त्री यादव र अर्थमन्त्री संजयकुमार यादवले सरकारमा एकलौटी गरेको भन्दै गठबन्धनका बाँकी दलहरु असन्तुष्ट बनेको हो ।

दलहरूबीचको विवाद मिलाउन संघीय सत्ता गठबन्धनको दबाबपछि जसपा अध्यक्ष उपेन्द्र यादव आफैले अग्रसरता लिँदा समेत असन्तुष्टि साम्य हुन सकेको छैन् ।

गत मंगलवार मधेश भवनमा यादवले सबै दलका नेताहरुसँग छलफल गरेका थिए । गठबन्धनका संसदीय दलका नेताहरुले अध्यक्ष यादवसामु आफ्ना गुनासो पोखेका थिए ।

तर ती गुनासोको सम्बोधन हुन नसकेको ती नेताहरुको भनाई छ ।

‘गठबन्धनभित्र ठीकठाक छैन । समस्या छ । तर, त्यसको सुनुवाईहुन सकेको छैन,’ लोसपाका प्रदेश सांसद उपेन्द्र महतोले भने,‘मन्त्रालय मिलेको छैन । मन्त्रालयहरूलाई टुक्र्याएर कमजोर पारिएको छ । गठबन्धन दलको बैठक बोलाइँदैन ।’

महतोका अनुसार जसपा अध्यक्ष यादवले गठबन्धनको बैठक बोलाए पनि चिया–कफी खाएर आफूहरू बाहिरिएको बताए ।

‘गठबन्धनभित्रको समस्या सम्बोधन होला भनेर हामी गएका थियौं,’ उनले भने,‘उपेन्द्रजी थोरै समयमा बाहिरिनु भयो । हामी पनि चिया–कफी खाएर निस्कियौं । खासै कुराकानी भएन ।’

मधेश प्रदेश सरकारमा गठबन्धनभित्र यतिबिघ्न असन्तुष्टि छ कि जनमत पार्टीले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुअघि माओवादी (केन्द्र), लोसपा र एमालेका सांसदहरु भारत, विहारको सुरसन्ड पुगेका थिए ।

मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने अडानमा भारत पुगेका सांसदहरूलाई भने दलको केन्द्रीय नेतृत्वको दबाबमा जनकपुर फर्काइएको थियो ।

माओवादी संसदीय दलका नेता भरत साहलाई मुख्यमन्त्री बनाउने गरी सुरसण्डमा यी दलहरुबीच करिब करिब सहमती भइसकेको थियो ।

मन्त्रालय भागबण्डको विषयमा लिखित सहमती समेत भइसकेको अवस्थामा सरकार परिवर्तनको यो खेल भने अन्तिम समयमा आएर विफल बनेको थियो ।

‘भरतजीले मुख्यमन्त्री बन्न यतिठूलो षडयन्त्र गरेको कुरा प्रचण्डजीले पछि थाहा पाउनुभयो । उहाँले कुनैपनि हालतमा केन्द्रिय गठबन्धनको निर्णय विपरित कदम चाल्नुहुन्न भन्नुभयो । लोसपाको जितेन्द्र सोनल गुटले पनि अन्तिममा भरतजीलाई साथ नदिएपछि षडयन्त्र असफल भयो,’ माओवादीका एक नेताले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *