सामाजिक फीड,
काठमाडौँ, १६ फागुन । मिटरब्याज पीडित र सरकारबीचको वार्ता बिनानिष्कर्ष टुंगिएको छ । आज तेश्रो दिन बुधबार पनि मिटरब्याज पीडित र सरकारबीच गृह मन्त्रालयमा वार्ता भएको थियो । तर, सहमति जुट्न सकेन । वार्तामा सहभागी पीडितहरूले समस्या समाधानका लागि सरकार गम्भीर नभएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
सरकारले मिटरब्याज पीडितको समस्यालाई गम्भीरतापूर्वक लिए पनि समस्या समाधान गर्ने विषयमा निष्कर्ष ननिस्किएको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति नेपालका अध्यक्ष अवदेश कुसवाहाले बताए ।
पीडितहरूले फर्जि लिखत, तमसुक, दृष्टिबन्धक, छिनुवा, चेक सम्पूर्णलाई अवैध घोषणा गर्नुपर्ने, साहुले जफत गरेका सम्पूर्ण सम्पत्ति फिर्ता गर्नुपर्नेलगायत माग राख्दै आएका छन् । लामो समयदेखि मिटरब्याज पीडितहरू देशका विभिन्न ठाउँबाट राजधानीमा आएर न्यायको माग गरिरहेका छन् ।
उनीहरूले पटक-पटक ध्यानाकर्षण गराउँदा पनि आफूहरूको माग सम्बोधन नभएको भन्दै सरकारप्रति असन्तुष्टिसमेत जनाएका छन् । सरकारलाई दबाब दिन गत माघ १६ गते पूर्व मेची र पश्चिम महाकालीबाट एकै पटक न्याय मार्च सुरु गरेका मिटर ब्याज पीडितहरूले धर्ना तथा आन्दोलन गरिरहेका छन् । उनीहरूले माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने पनि स्पष्ट पारेका छन् ।