Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, फागुन १६ गते ।

नेपालमा भारतीय नागरिकले अब क्यूआर स्क्यानबाट सजिलै भुक्तानी गर्ने सक्ने भएका छन् ।

नेपालको भुक्तानी सञ्जाल फोनपेले भारतीय नागरिकले क्यूआर स्क्यानबाटै नेपालमा भुक्तानी गर्नसक्ने व्यवस्था गरेको हो।

यसका लागि यही फागुन ४ मा दुई देशका केन्द्रीय बैंकबीच क्रसबोर्डर पेमेन्ट अर्थात् अन्तर्सीमा भुक्तानीबारे शर्तनामापत्रमा हस्ताक्षर भएको थियो।

योसँगै भारतको एकीकृत भुक्तानी विन्दु (यूपीआई) र नेपालको राष्ट्रिय भुक्तानी विन्दु (एनपीआई)लाई एकीकृत गर्ने बाटो खुलेको थियो। बैंकबाट यो सेवा यही फागुन २३ देखि सुरु हुने भएको छ।

फोनपेले सेवा थालेलगत्तै नबिल बैंक, एभरेष्ट र माछापुच्छ्रे बैंकले क्यूआरबाट पैसा पाउनसक्ने व्यवस्था गरेका छन्।
नबिल बैंकका अनुसार बैंकमार्फत लिएको क्यूआर कोड सेवामा अब भारतीय नागरिकले भारतीय एप (फोनपे र भिम)को प्रयोग गरी रकम भुक्तानी गर्न सक्नेछन्।

त्यसका लागि बैंकले उपलब्ध गराएको स्टेटिक वा डाइनामिक दुवै प्रकारका क्यूआर कोडमा भारतीय नागरिकले व्यवसायसम्बन्धी कारोबारको लागि भुक्तानी गर्न सक्नेछन्।

हाललाई क्यूआर भुक्तानीमा कुनै शुल्क नलाग्ने व्यवस्था रहिआएकोमा भारतीय एपमार्फत गरिने भुक्तानीमा भने केही सेवा शुल्क लाग्ने र त्यसबाहेक भने अन्य कुनै शुल्क नलाग्ने बताइएको छ ।

नबिल बैंकले यस सुविधा उपभोग गर्न नचाहने प्रयोगकर्तालाई उक्त मितिअगावै आफूले क्यूआर सुविधा लिएका बैंक शाखामा सम्पर्क गरी भारतीय एपमार्फत भुक्तानी गर्न सकिने सुविधा रद्द गर्न आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *