समाजिक फीड
काठमाडौं, फागुन १६ गते ।
नेपाल प्रहरीले गत ६ महिनामा ४ सय ६ जनालाई हत्या अभियोगमा पक्राउ गरेको छ ।
चालु आर्थिक वर्षमा कर्तव्य ज्यान मुद्दा लागेका ५ सय २९ जनामध्ये ४ सय ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
यद्दपी १२३ जना अझै फरार रहेको र उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाको छ ।
हालसम्म् पक्राउ पर्नेमा तीन सय ६० जना पुरुष र ४६ जना महिला रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।
उनका अनुसार पक्राउ परेकामध्ये सात पुरुष र एक जना महिला विदेशी नागरिक छन् ।
मधेश प्रदेशबाट ५८, काठमाडौँ उपत्यका प्रहरी कार्यालयअन्तर्गत २२, कोशी प्रदेशमा ८५, बागमतीमा ३२, गण्डकीमा ३२, लुम्बिनीमा ७९, कर्णालीमा ४९ र सुदूरपश्चिम प्रदेशमा ४९ जना पक्राउ परेको प्रवक्ता ढकालले बताए ।
उनका अनुसार चालु आर्थिक वर्षमा ७७ प्रतिशत अभियुक्त प्रारम्भिक अनुसन्धानकै चरणमा पक्राउ गर्न सफल भएको छ ।
अनुसन्धान निरन्तर चलिरहने भएको हुँदा अभियुक्त पक्राउ पर्ने सङ्ख्या बढ्दै जाने उनले बताए ।
नेपाल प्रहरीले अनुसन्धानलाई निरन्तरता दिने र खोजतलासलाई तीव्र पारेका कारण यस्ता अपराधी पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको उनको भनाई छ ।
खुला सिमाना र विश्वव्यापीकरणका कारण केही त्यस्ता व्यक्ति फरार रहेको भएता पनि इन्टरपोलको सहयोगमा समेत केही फरार प्रतिवादीलाई पक्राउ गरी ल्याइएका प्रहरीले जनाएको छ ।