Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

बारा, १५ फागुन । बाराको निजगढस्थित ग्यारेजमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । सोमबार निजगढ नगरपालिका–७ स्थित ग्यारेजमा भएको विस्फोटमा परी ग्यारेजका सञ्चालक ४५ वर्षीय रेशम मगर, भारतका ३५ वर्षीय राकेश जयसवाल र पर्सा वीरगन्जका २० वर्षीय रितु रजतको मृत्यु भएको हो ।

अन्य तीन जना घाइते छन् । घाइते हुनेमा भारत घर भएका २० वर्षीय अरविन साह, पर्सा वीरगन्ज घर भएका ३४ वर्षीय फिरोद देवान र निजगढ नगरपालिका– ५ का ४५ वर्षीय सूर्यबहादुर थापा छन् । घाइतेमध्ये देवानको अवस्था सामान्य छ भने थापा उपचार पछि घर फर्किएका छन् । विस्फोट हुने वस्तु ग्याँस सिलिण्डर नभएको पनि पुष्टि भएको छ ।

बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले भने, ‘विस्फोट भएको उक्त वस्तु हेर्दा बमजस्तै देखिन्छ यो ‘प्रोजेक्टाइल’ हो वा अन्य विस्फोटक भन्ने परीक्षणपछि मात्र बताउन मिल्छ ।’ प्रोजेक्टाइल मिसाइलमा प्रयोग हुन्छ ।

यसअघि, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले ग्याँस सिलिण्डर विस्फोट भएको भनेर सञ्चारकर्मीलाई जानकारी दिएका थिए । प्रहरी उपरीक्षक काफ्लेका अनुसार निजगढ नगरपालिका–९ का कवाडी सञ्चालक राज जयसवालले ‘प्रोजेक्टाइल’ जस्तै देखिने वस्तुमा भएको तामा निकाल्न ल्याएको र सो क्रममा उक्त वस्तु विस्फोट भएको हो ।

जयसवालले सुरुमा कवाडीमै तामा निकाल्न प्रयास गरे पनि नसकेपछि ग्यारेजको लेथमा ल्याएका थिए । लेथले काट्ने प्रयास गर्दा उक्त वस्तु विस्फोट भएको हो । विस्फोटपछि कवाडी सञ्चालक जयसवाल र उनकी श्रीमती सुसिलादेवी जयसवाल एम्बुलेन्समार्फत् भारततर्फ जाँदै गर्दा प्रहरीले पक्राउ गरेको छ । विस्फोटक वस्तु निकै शक्तिशाली रहेको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *