समाजिक फीड
जनकपुरधाम, फागुन १५ गते ।
मधेश प्रदेश सरकारले नीति तथा योजना आयोगका सदस्य डा. सोहन साहलाई पदमुक्त गरेको छ ।
आइतवार बसेको मन्त्रीपरिषदको निर्णय अनुसार उनलाई पदबाट हटाइएको हो ।
यद्दपी सोमवार मात्रै डा. साहलाई पदबाट हटाइएको पत्र मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले पठाएको थियो ।
उनलाई हटाउने कारण भने प्रदेश सरकारले खुलाएको छैन् । गत असोज १६ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले उनलाई आयोगको सदस्यमा नियुक्त गरेको थियो ।
जनमत पार्टीको सिफारिसमा मुख्यमन्त्री सरोजकुमार यादवले उनलाई आयोगको सदस्य नियुक्त गरेका थिए ।
पछि जनमत पार्टी प्रदेश सरकारबाट बाहिरिएर सरकार विरुद्ध आक्रमक भएपछि सरकारे उनलाई पदबाट हटाएको हो ।
उनलाई हटाइएपछि जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले असन्तुष्टि जनाएका छन् ।
‘ मधेश त्यसै असाक्षर र अविकसित भएको हो ? डा. सोहन प्रसाद साह जत्तिको विद्वान र ऊर्जाशील व्यक्तिलाई यसरी सोध्दै नसोधेर बर्खास्त गर्नु पछाडिको कारण मधेश प्रदेशमा उहाँले देखाइरहनुभएको काम हो। ६ वर्षमा कहिले प्रदेश सरकारले गर्न नसकेको काम, हाम्रो शिक्षा मन्त्रीको पालामा प्रदेश साक्षरता कार्यक्रमको डिजाइन गरेका, हुलाकी सडकमा रोजगारी सिर्जना सम्बन्धी छलफल चलाएर उनी निकै लोकप्रिय भइरहेका थिए। चित्त नदुखाउनुस् डा.साहब। जंगलराजको अन्त्य आज न भोलि हुनेछ, र यिनीहरू जेल पछाडि तपाईं देख्नसक्नुहुनेछ। त्यो दिन धेरै टाढा छैन,’ राउतको सचिवालयले फेसबुकमा लेखेका छन् ।
करिब एक दशकदेखि अध्ययन अनुसन्धानको क्षेत्रमा काम गर्दै आएका डा.साह भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधी गरेका हुन् ।
मार्टिन चौतारीबाट जागिर छोडेर उनी आयोगको सदस्य बन्न तयार भएका थिए ।
मधेस प्रदेश सरकारले पहिलो पटक सार्वजनिक गरेको मधेस प्रदेश सरकारको आर्थिक सर्वेक्षण उनैले तयार पारेका थिए ।
डा. साह मधेसको शिक्षा सुधारको क्षेत्रमा अभियन्ताका रुपमा समेत चिनिन्छन् ।