समाजिक फीड
जनकपुरधाम, फागुन १४ गते ।
जनकपुरधामस्थित प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले छड्के अनुगमन गरेका छन् ।
सोमवार दिउँसो उनले मुलेजियास्थित चिकित्सालयमा छड्के अनुगमन गरेका हुन् ।
मन्त्री सिंह पुग्दा त्यहाँका अधिकांश कर्मचारी तथा स्वास्थ्यकर्मी अनुपस्थित थिए ।
छड्केका क्रममा चिकित्सालयकी प्रमुख डा. सीमा झाले यहाँ दिइने सेवाहरूका साथै समस्याहरूको विषयमा मन्त्री सिंहलाई अवगत गराएकी थिइन् ।
मन्त्री सिंहले उपचारका लागि आएका बिरामीसँग पनि यो चिकित्सालयले दिइरहेको सेवाहरूका विषयमा जानकारी लिएका थिए ।
त्यसक्रममा सिंहले अनुपस्थित भएका कर्मचारी तथा स्वास्थ्यकर्मीको हाजिरी चेक गर्दै गयल भएकाहरूको नाम टिपोट गरेर लगेका थिए ।
‘अस्पताल र औषधीका विषय जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषय हो । त्यसैले उहाँले स्वास्थ्य संस्थालाई चुस्त दुरुस्त र सहज सेवा प्रवाहका लागि अनुगमन गर्नुभएको हो । कर्मचारी हाजिरीका विषय, प्रशासनीक विषय र व्यवस्थापनका वियष अझै कसरी दुरुस्त बनाउने उहाँको चासो थियो,’ मन्त्री सिंहका स्वकिय सचिव निकेश त्रिपाठीले भने ।
उनका अनुसार अनुपस्थित भेटिएका कर्मचारीलाई स्पष्टिकरण सोधिनेछ । अर्को पटक पनि यस्तै अवस्थामा भेटिए कारबाही प्रक्रिया अघि बढाइनेछ ।