Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, फागुन १३ गते ।

सरकारले आजदेखि दादुरा–रुवेलाको विरुद्धको खोप अभियान सञ्चालन गरेको छ।

दादुरा रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आजदेखि अगामी चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागिएको हो।

भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका तीन जिल्ला गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइने छ।

यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप लगाइने छ।

खोप बिहान १० बजदेखि दिउँसो ४ बजेसम्म बालबालिकालाई विद्यालय तथा खोप केन्द्रमा खोप लगाइने छ।

स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमका अनुसार नौ महिनादेखि पाँच वर्षमुनिका २१ लाख ३० हजार ६८३ बालबालिका र पाँच वर्षदेखि १५ वर्षमुनिका ३६ लाख १२ हजार ३१० बालबालिका गरी कूल ५७ लाख ४२ हजार ९९३ बालबालिकालाई खोप लगाइने छ।

खोप अभियानका लागि देशभरि ४८ हजार ७९८ खोप केन्द्र रहेका छन । यस्तै ४९ हजार ९३७ जना स्वास्थ्यकर्मी र ५९ हजार ९०६ जना स्वयम्सेवक परिचालन गरिने छ । खोप सुरक्षित र प्रभावकारी रहेकाले सबैले आआफ्नो बालबालिकालाई खोप लगाउन उनले आग्रह गरे। खोपले ८५ प्रतिशतलाई दादुरा रुवेला रोगसँग लड्ने क्षमता विकास गर्ने चिकित्सकले बताएका छन्।

खोप लगाएपछि बच्चालाई ज्वरो आउने, रुघाखोकी आउनेजस्ता समस्या देखिए पनि आत्तिनुपर्ने अवस्था नरहेको गौतमले बताए। खोप लगाएपछि बच्चामा समस्या हुने भएको जिल्लास्तरमा आकस्मिक उपचारको टोली गठन गरिएको छ।

सात रोगविरुद्धको खोप पनि

खोप अभियानकै क्रममा नियमित छुटेका खोप पनि बालबालिकालाई लगाइने उहाको भनाइ रहेको छ । खोप अभियानमा सात वटा रोगविरुद्धको खोप पनि सँगै सञ्चालन हुनेछन्।

खोप शाखाका प्रमुख डा गौतमले हेपाटाइटिस बी, धनुष्टाङ्कार, इन्फ्युन्जा, लहरेखोकी, भ्यागुते रोग, निमोनिया र पोलियोविरुद्धको खोप पनि सञ्चालन हुने बताउनुभयो ।

ती खोप लगाउन छुटेका नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई लगाइने छ।

सरकारले सन् २०१८ मा दादुरा रुवेलालाई नियन्त्रण गरे पनि निवारण गर्न सकेको छैन ।

सन् २०२६ सम्म दादुरा– रुवेला निवारण गर्ने लक्ष्यका यसपटक सरकारले खोप अभियान सञ्चालन गर्न थालेको हो। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *