सामाजिक फीड,
काठमाडाैँ, १३ फागुन । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट नवजात शिशु चोरी गर्ने महिलालाई प्रहरीले सार्वजनिक गरेको छ ।
शुक्रबार अस्पतालबाट शिशु चोरी गरेको आरोपमा प्रहरीले दैलेख नौमूले गाउँपालिका–१ घर भई हाल काठमाडौँ काँडाघारी बस्ने २४ वर्षीया मनकुमारी सिंहलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले शुक्रबार राति सिंहलाई पक्राउ गरेको थियो ।
शिशुलाई उद्धारपछि आफन्तको जिम्मा लगाइएको छ । उनको काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचार भइरहेको छ । काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–३ घर भई हाल काठमाडौँको कपन बस्दै आएकी २२ वर्षीया सविना श्रेष्ठले शुक्रबार दिउँसो प्रसूतिगृहबाट २६ दिनको आफ्नो शिशु चोरी भएको भन्दै प्रहरीलाई मौखिक सूचना दिएपछि खोजी सुरु गरिएको थियो । सीसीटीभी फुटेजको सहयोगमा प्रहरीले सिंहलाई पक्राउ गर्न सफल भएको हो ।