Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

धनुषा, १२ फागुन । धनुषा र सिरहा जोड्ने कमला नदीमा निर्माण भएको देशको सबैभन्दा लामो झोलुङ्गे पुलको उद्घाटन भएको छ । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालले सिरहा नगरपालिका–१३ मल्हनिया र जनकनन्दिनी गाउँपालिका–६ कठाल जोड्ने कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन गरेका हुन् ।

यो पुलको लम्बाई डेढ किलोमिटर (१५००.४४ मिटर) रहेको छ । करिब २८ करोड ८५ लाखको लागतमा निर्मित पुलको भारवहन क्षमता पाँच सय ४० मेट्रिक टन अर्थात करिब ३ हजार ८८६ पदयात्री छ । यो पुल निर्माण गर्न सपना, उमा एन्ड कम्पनी तथा जोइन्ट भेन्चरमा थानी कम्पनीले ठेक्का पाएको थियो । चार फिट चौडा पुलबाट सर्वसाधारण, चौपाया, साइकल र मोटरसाइकल सहजै आवतजावत गर्न सक्ने छन् ।

स्थानीय प्रशासनले भने पुलको दीर्घकालीन उपयोगका निम्ति भारवहन गर्ने सवारी साधन टेम्पोलगायत साधन तीव्र गतिमा नचलाउन र साइकल, मोटरसाइकल पनि डोर्‍याएर नदी पार गर्न सम्बद्ध सबै प्रयोगकर्तामा अनुरोध गरेको छ । उद्घाटनसँगै यो पुल देशकै लामो झोलुंगे पुल हुन पुगेको छ। अहिलेसम्म महाकाली नदीमा बनेको दोधारा–चाँदनी जोड्ने झोलुंगे पुल सबैभन्दा लामो भनेर चिनिएको थियो ।

उक्त पुलको लम्बाई १ हजार ४ सय ५२ मिटर छ । तर, एक महिनापछि कमलामा बनेको कठाल–मल्हनिया जोड्नेभन्दा लामो अर्को झोलुंगे पुल पनि थपिनेछ । करिब एक महिनापछि उद्घाटन हुन लागेको सुस्ता झोलुंगे पुल देशभरिकै लामो हुनेछ । नारायणी नदीमा निर्मित यो पुलको लम्बाइ १५ सय ७१ मिटर हुनेछ। यो झोलुंगे पुलले स्थानीयको जनजीवन निकै सहज बनाएको सरकारको दाबी छ।

अहिलेसम्म कमला नदीवारपार गर्न पूर्व–पश्चिम राजमार्गसम्म आउनुपर्ने बाध्यतामा स्थानीय थिए । पुल बनेपछि उक्त बाध्यता हट्ने बताइएको छ । यसबाट स्थानीयलाई अस्पताल जान, सदरमुकाममा आउजाउ गर्न सहज हुनुका साथै दैनिक रूपमा विद्यालय, कलेज धाउँदा खर्च हुने समय पनि बच्ने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *