Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, फागुन ११ गते ।

नेपाल र भारतका सुरक्षा अधिकारीले दशगजामा अपराध नियन्त्रण गर्ने समझदारी गरेको छ । भारत बिहारको मधुवनी जिल्लामा नेपालका चार जिल्ला र त्यहाँका सुरक्षा अधिकारीबीच सीमा सुरक्षा र अपराध न्यूनिकरणको विषयमा छलफल तथा समझदारी भएको हो ।

भारतमा हुने अगामी निर्वाचनलाई लक्षित गरी भएको छलफलमा बोर्डर क्षेत्रमा सुरक्षा तथा नियमानुसार हुने बोर्डर बन्द जस्ता विषयमा छलफल र समझदारी भएको धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपानी पाण्डेले जानकारी दिए ।

उनका अनुसार सीमा सुरक्षा, क्रस बोर्डर अपराध नियन्त्रण, लागू औंषध र सीमा क्षेत्रमा अवैधानिक मदिरा नियन्त्रण, मानव वेचविखन नियन्त्रण, नक्कली नोट नियन्त्रण गर्ने विषयमा समझदारी समेत भएको हो । छलफलबाट एकापसमा समन्वय, शान्ति सुरक्षा र अपराध नियन्त्रणमा थप सहयोग हुने विश्वास लिइएको छ ।

मधुवनी जिल्लाको मिथिला चित्रकला संस्थान सौरथमा भएको भारत र नेपालका सीमावर्ती जिल्लाहरू सप्तरी, सिराहा, धनुषा र महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रहरी प्रमुखहरू, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुखहरू तथा मधुवनी जिल्लाका डिस्ट्रिक मजिस्ट्रेट, प्रहरी प्रमुख, सीमा सुरक्षा बल प्रमुख लगायतको उपस्थिति थियो ।

बैठकमा नेपाल तर्फको नेतृत्व धनुषाका प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले र मधुवनी जिल्लाका डिस्ट्रिक मेजिष्ट्रेट अरविन्द कुमार वर्माले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *