Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडौँ, १० फागुन ।

क्रिकेटर सन्दीप लामिछाने काठमाडौँ जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन दर्ता गराएका छन् । बिहीबार उच्च अदालत पाटनमा मुद्दा दर्ता भएको हो । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १३७ अनुसार थुनाबाहिरै बसेर मुद्दा लड्न पाउने गरी मुद्दा दर्ता गरिएको रजिस्ट्रार मानबहादुर कार्कीले जानकारी दिए ।

काठमाडौँ जिल्ला अदालतले बलात्कार मुद्दामा क्रिकेटर लामिछानेलाई ८ वर्ष कैद सजाय तोकेको थियो । यसैगरी बलात्कार कसुरमा लामिछानेलाई ३ लाख जरिवानाका साथै पीडितलाई २ लाख क्षतिपूर्ति भराउन पनि फैसला भएको थियो । तत्कालीन नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान समेत रहेका लामिछानेविरुद्ध जबरजस्ती करणीको आरोपमा २०७९ भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो भने असोज २० मा त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए ।

आफूलाई लामिछानेले भदौ ५ गते तिलगंगाको एक होटलमा बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख थियो । सोही जाहेरी प्रहरीले भदौ २२ गते दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो । यस्तै भदौ २३ मा काठमाडौँ जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको थियो । उनीविरुद्ध पुस २४ मा कैद सजाय तोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *