Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, फागुन ९ गते ।

सर्लाहीमा मजदुर सवार ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । अन्य सातजना घाइते भएका छन् । घाइते मध्ये दुईजनाको अवस्था गम्भीर छ ।

सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र सिंह थारुका अनुसार मृत्यु हुनेमा ट्याक्टर धनीसमेत रहेका चालक बाराको गढीमाई नगरपालिका ९ का ५५ वर्षीय जयलाल सहनी र मजदुर ५० वर्षीय रामनाथ सहनी रहेका छन् ।

आलु खन्न मजदुर सवार भई आउँदै गरेको नम्बर नखुलेको ट्याक्टर अनियन्त्रित भएर बरहथवा नगरपालिका १५ स्थित बागमती नदीको नहरमा खसेको डिएसपी थारुले बताए ।

उनका अनुसार दुर्घटना परेर बारा गढीमाईकै १७ वर्षीय आकाश सहनी, १२ वर्षीय किसन सहनी, ४८ वर्षीया गर्भी देवी सहनी, ४५ वर्षीया सुखली देवी, १८ वर्षीय नितेश सहनी, १६ वर्षीया किशोरी अञ्चलाकुमारी र ६७ वर्षीय वृद्ध रामप्रसाद सहनी घाइते भएका छन् । जसमध्ये आकाश सहनी र किसन सहनीको अवस्था गम्भीर रहेको डिएसपी थारुले बताए ।

दुबैजनालाई थप उपचारको लागि वीरगञ्ज रेफर गरिएको छ । अन्यको गौर र गरुडामा उपचार भइरहेको छ ।
दुर्घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *