Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

वीरगञ्ज, ९ फागुन । पर्साको वीरगञ्जमा जारी कर्फ्यु खुकुलो बनाउँदै लगिएको छ । सर्वसाधारणको सहजताका लागि जिल्ला प्रशासन कार्यालयले गत सोमबार साँझदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यु आज बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि हटाइएको हो । यसअघि बिहान ६ देखि १० बजेसम्म कर्फ्यु हटाइएको थियो ।

अवस्थाको आकलन गरी निषेधाज्ञा थप खुकुलो बनाउँदै जाने नीति लिइएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए । मुलुकको आर्थिक नगर र स्थानीय सर्वसाधारणको दैनिकीलाई प्रभाव नपरोस् भनेर निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारीले बताए ।

वीरगञ्जको अहिलेसम्मको अवस्था समान्य छ । रौतहटको इशनाथमा केही दिनअघि दुईपक्षबीच भएको झडपको विरोधमा हिन्दू समाजले गत सोमबार वीरगञ्जमा निकालेको प्रदर्शनका क्रममा झडपको स्थिति सृजना भएपछि वीरगञ्जमा कर्फ्यु जारी गरिएको हो । मंगलबार भएको सर्वपक्षीय सर्वदलीय बैठकले वीरगञ्जमा सद्भाव कायम राख्ने प्रतिबद्धतासहित पाँचबुँदे निर्णय गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *