सामाजिक फीड,
रौतहट, ८ फागुन । रौतहटको ईशनाथमा सहमति जुटेपछि सरस्वतीको मूर्ति विसर्जन गरिए पनि कर्फ्यु यथावत् रहेको छ । ईशनाथ नगरपालिका–७ घिउरा गाउँमा गत शुक्रबारदेखि थन्किएको सरस्वतीको मूर्ति सोमबार अपराह्न कर्फ्यु अवधिभित्रै सहमतिअनुसार विसर्जन गरिएको छ । मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरेलको सक्रियतामा सर्वदलीय सर्वपक्षीय बैठकको निर्णयअनुसार पुरानै सहमतिमा मूर्ति विसर्जन गरिएको हो ।
साबिक स्थान घिउरा गाउँको उत्तरपट्टि विद्यालय छेउको सार्वजनिक पोखरीमा मूर्ति सेलाइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताएकी छन् । तर गत शनिवार स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु भने हालसम्म यथावत् रहेको छ ।
घीउरा गाउँमा डिजे बाजासहितको ट्याक्टर साविक बाटो हुँदै लैजाने र सरस्वतीको मूर्ति अर्को बाटो हुँदै गाउँ छेउ विद्यालय नजिकैको सार्वजनिक पोखरीमा विसर्जन गर्न लैजाने स्थानीय प्रशासनको रोहवरमा गत शनिबार दुईपक्षीय सहमति भएको थियो ।
