सामाजिक फीड,
काठमाडौँ, ७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसका अवसर पारेर फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।
माघ २६ गते बसेको बैठकले दिवसका दिन नेपाली सेनाद्वारा सैनिक मञ्च, टुडिँखेलमा बिहान सूर्योदयसँगै विगुल (रिभ्याली) बजाउने तथा तोप र बन्दुकको बढाईं गर्ने, सेनाको हेलिकोप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अङ्कीत व्यानर चक्रपथ वारपार प्रदर्शन गर्ने तथा नेपाली सैनिक मञ्च, टुडिखेलमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झण्डा प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।
सैनिक मञ्च, टुँडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को औपचारिक मूल समारोह आयोजना गर्ने र उक्त समारोहमा निर्वाचित जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षकर्मी सार्वजनिक तथा सामुदायिक संघ–संस्था र शैक्षिक तथा प्राज्ञिक प्रतिष्ठानका पदाधिकारी, नागरिक समाजका लव्ध–प्रतिष्ठित व्यक्तित्व तथा सर्वसाधारण समेतको उपस्थितिका लागि आमन्त्रण गर्ने बैठकको निर्णय छ ।
बैठकले रेडियो नेपाल तथा नेपाल टेलिभिजनबाट प्रजातन्त्र दिवसका अवसरमा जागरण गीत प्रसारण गर्ने र अन्य रेडियो, एफएम तथा टेलिभिजनहरूलाई समेत प्रसारणका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।
बैठकले विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासका कार्यक्रमसमेत स्वीकृत गरेको छ । विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा आगामी फागुन ६, ७ र ८ गते कार्यालयको छत, बरण्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने र साँझ दीप प्रज्ज्वलन गर्ने मूल समारोह समितिले निर्णय गरेको छ ।