Samajik Feed – News Portal from Nepal

मलेसिया । एसीसी वुमेन्स प्रिमियर कप–२०२४ अन्तर्गत बुधबारको खेलमा कुवेतलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको छ । मलेसियामा भएको क्वार्टरफाइनलमा कुवेतमाथि नेपालले डीएलएस मेथडमा ८ विकेटको जित निकालेको हो ।

अब नेपालले फाइनल प्रवेशका लागि आयोजक मलेसियासँग शुक्रबार खेल्नेछ। कुवेतले दिएको ७४ रनको लक्ष्य पछ्याएको नेपालले ६.५ ‌ओभरमा २ विकेटको क्षतिमा ५० रन बनाउँदा खेल वर्षाका कारण रोकिएको थियो । नेपालकी कप्तान इन्दू बर्मा २२ रन र कविता जोशी ४ रन बनाएर खेलिरहेका थिए । त्यसअघि कविता कुँवर १ रन र सीता रानामगर १७ रनमा आउट भएका थिए ।

टस जितेर पहिले ब्याटिङ गरेको कुवेतविरुद्ध १३ औँ ‌ओभरको तीन बलमा तीन विकेट लिएर नेपालकी सीता रानामगरले ह्याट्रिक गरिन् । उनले ओभरको दोस्रो बलमा कुवेतकी ओपनर प्रियदा मुरलीलाई २९ रनमा एलबीडब्लूको धरापमा परिन् ।

अर्को बलमा मेयर ओमारनलाई शून्यमा विकेटकिपर कजलबाट स्टमपिन गराइन् । ओभरको चौथो बलमा कुवेतकी कप्तान अम्ना शरिफ तारिकलाई पनि शून्यमा एलबीडब्लूको धरापमा परेपछि उनीले ह्याट्रिक पूरा गरिन् । सीताको ह्याट्रिकसँगै कुवेतलाई नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा ७३ रनमा रोक्यो । उसका लागि प्रियदाले २९ रन जोडिन् । बलिङमा नेपालकी सीताले ३ विकेट, रुबिना क्षेत्री र कविता कुँवरले २-२ विकेट लिन सफल भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *