Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

बाँके, २ फागुन । पर्यटन प्रबर्द्धनका लागि नेपालगञ्ज–जनकपुरधाम चार्टर हवाई उडान हुने भएको छ । यही शनिबार र सोमबार नेपालगञ्ज–जनकपुरधाम चार्टर उडान हुने नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाटा), बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिएका हुन् ।

नेपालगञ्जस्थित मिथिला समाजको आग्रहमा दुई दिन चार्टर उडान हुने उनले जानकारी दिए । यसले धार्मिक पर्यटन प्रबर्द्धन हुनुका साथै भारतको अयोध्यासँग नेपालगञ्जको बागेश्वरी मन्दिर र जनकपुरधाम मन्दिरलाई जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको पनि उनले बताए ।

यति एअरलाइन्सबाट सुरु हुने हवाई उडानका लागि अहिले एकतर्फी रूपमा आठ हजार पाँच सय भाडा कायम गरिएको छ । उनका अनुसार विभिन्न सरोकारवाला सङ्घसंस्थाको पहलमा सुरु हुने हवाई सेवाका लागि ३० लाख खर्च हुने अनुमान गरिएको छ ।

यात्रुको चाप बढेमा नेपालगञ्ज–जनकपुरधाम उडान नियमित पनि हुन सक्ने यति एअरलाइन्सले जनाएको छ । भारतको अयोध्यामा श्रीराम मन्दिरको दर्शन गरेपछि नेपालको जनकपुरमा रहेको जानकी मन्दिरको दर्शन गर्नाले पुण्य प्राप्त हुने पौराणिक मान्यता छ । भारतको अयोध्याबाट नेपालगञ्ज सबैभन्दा नजिकको सहर हो । नेपालगञ्जबाट भारतको अयोध्या एक सय ७१ किलिमिटरको दूरीमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *