सामाजिक फीड,
काठमाडौँ, १ फागुन । रुविना क्षेत्रीको शतक र पूजा महतोको अर्धशतकको योगदानमा नेपालले एसीसी प्रिमियर कपअन्तर्गत समूह चरणमा लगातार तेस्रो जित दर्ता गरेको छ ।
नेपालले माल्दिभ्सलाई २ सय १४ रनको फराकिलो अन्तरले पराजित गर्दै समूह विजेताको रूपमा क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । नेपालले यसअघि समूहमा हङकङ र भुटानलाई हराएको थियो ।नेपालले प्रस्तुत गरेको २ सय २८ रनको बलियो लक्ष्य पछ्याउने क्रममा माल्दिभ्स १३.५ ओभरमा मात्र १३ रन जोड्दै अलआउट भयो ।
माल्दिभ्सका लागि कप्तान सिमय बिन्तले सर्वाधिक ८ रन जोडिन् । नेपालकी अश्मिना कर्माचार्यले ४ विकेट लिँदा पूजा महतो र रुविना क्षेत्रीले ३–३ विकेट लिए । त्यसअघि रुविनाको शतकमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २७ रन जोडेको थियो । रुविनाले शतक प्रहार गर्दा पूजा महतोले अर्धशतकका साथ नेपाललाई विशाल लक्ष्यसम्म पुर्याएकी थिइन् ।
रुविनाले ५४ बलमा शतक पूरा गरेकी थिइन् । रुविना नेपालका लागि पहिलो शतक प्रहार गर्ने महिला खेलाडी समेत बनिन् । रुविनाले ५९ बलमा १० चौका र ५ छक्कासहित १ सय १८ रनको योगदान दिइन् । पूजाले करिअरको पहिलो अर्धशतक बनाउने क्रममा ५९ रन बनाइन् । उनले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गरिन् । नेपालको महिला टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सर्वाधिक ठूलो योगफल हो ।
यसअघि कतारविरुद्ध नेपालले सन् २०२१ मा खेलिएको सिरिजमा १ सय ६४ रन बनाएको थियो । नेपाल ३ खेलमा ६ अंक जोड्दै समूह विजेताको रूपमा क्वाटरफाइनलमा प्रवेश गर्यो । हङकङको ३ खेलमा ४ अंक छ भने भुटानको २ अंक छ । माल्दिभ्सले खाता पनि खोल्न नसकेर आउट भएको छ ।
रुविना र पूजाको विश्व कीर्तिमान
नेपालका दुई ब्याटर रुविना र पूजाले एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्सविरुद्ध विश्व कीर्तिमान बनाएका छन् ।
रुविना र पूजाले माल्ल्दिभ्सविरुद्ध पाँचौं विकेटका लागि ८२ बलमा १६६ रनको अविजित साझेदारी गरेका थिए । जुन साझेदारी महिला टी-२० आई विश्वकै पाँचौँ विकेटका लागि भएको सर्वाधिक ठूलो हो ।
यसअघि महिला टी-२० आईमा पाँचौँ विकेटका लागि अष्ट्रेलियाका ग्रेसी हारिस र आश्लिघ गार्डनरले २०२२ मा भारतविरुद्ध १२९ रनको साझेदारी गरेका थिए ।