सामाजिक फीड,
काठमाडौँ, १ फागुन । मलेसियामा जारी एसीसी प्रिमियर कपमा नेपाली महिला टिमकी पूर्वकप्तानसमेत रहेकी रुविना क्षेत्रीले कीर्तिमानी प्रदर्शन गरेकी छन् ।
मंगलबार मलेसियाको बांगीमा भएको माल्दिभ्सविरुद्धको खेलमा रुविनाले ११८ रनको अविजित इनिङ्स खेलेर अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने पहिलो नेपाली महिला ब्याटर बनेकी हुन् । रुविना माल्दिभ्सविरुद्ध ५९ बलमा ११८ रनमा अविजित रहिन् । उनले यसअघि सीता रानामगरको नाममा रहेको ८२ रनको कीर्तिमान तोडेकी हुन् ।
माल्दिभ्सविरुद्ध टस जितेर ब्याटिङमा उत्रिएको नेपालले कीर्तिमानी २२८ रनको लक्ष्य पनि प्रस्तुत गरेको छ । नेपालले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २२७ रन बनायो । नेपाली महिला टिमले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो स्कोर हो ।
नेपालले यसअघि सन् २०२१ मा कतारविरुद्ध बनाएको १६४ रनको योगफलको कीर्तिमान तोडेको हो । माल्दिभ्सविरुद्ध पूजा महतोले ३६ बलमा ५९ रन जोडिन् । राष्ट्रिय टिमबाट पूजाको पनि यो पहिलो अर्धशतक हो । नेपाली टिमको खातामा सीताले १५, कविताले १३ र डोली भट्टले ६ रन थपे । कप्तान इन्दु वर्मा भने ‘गोल्डेन डक’ भइन् ।