Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडाैँ, २९ माघ । क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिजमा नेपालले क्लिनस्वीप गरेको छ । सोमबार भएको तेस्रो तथा अन्तिम खेलमा नेपाल ९ विकेटले विजयी भएको छ ।

यससँगै नेपालले तीन खेलको सिरिज क्लिनस्वीप गरेको हो । त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले अनिलकुमार साह र भीम सार्कीको शतक मद्दतमा ४४.३ ओभरमा लक्ष्य पूरा गर्‍यो । अनिलले ११६ बलमा ११ चौका र एक छक्काको मद्दतमा शतक पूरा गरे भने भीमले १२७ बलमा ११ चौका र एक छक्काको मद्दतमा शतक बनाएका हुन् ।

नेपालले ओपनर कुशल भुर्तेललाई १३ रनमै गुमाएको थियो । तर, अनिल र भीमले दोस्रो विकेटका लागि अविजित १८९ रनको कीर्तिमानी साझेदारी गर्दै नेपाललाई जित दिलाए । यो एकदिवसीय क्रिकेटमा नेपालको सबभन्दा ठूलो साझेदारी हो । यसअघि एकदिवसीय क्रिकेटमा गत जुनमा जिम्बाब्वेविरुद्ध कुशल भुर्तेल र असिफ शेखले पहिलो विकेटका १७१ रनको साझेदारी गरेका थिए । एकदिवसीय क्रिकेटमा दुई नेपाली ब्याट्सम्यानले शतक पूरा गरेको यो पहिलो पटक हो ।

अनिल ११२ र भीम १०१ रनमा अविजित रहे । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २३२ रन बनाएको थियो । उसका लागि नवनित दलिवालले ५० रन बनाए भने निखिल दत्तले ४५ रन बनाए ।

नेपालका हेमन्त जिसीले ३ विकेट लिए भने कुशल मल्लले २ तथा पवन सरार्फ, आकाश चन्द र ललित राजवंशीले समान १–१ विकेट लिएका थिए । यसअघि भएको पहिलो एकदिवसीय खेल नेपालले ७ रनले र दोस्रो खेल ४ विकेटले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *