सामाजिक फीड,
काठमाडौँ, माघ २९ । व्यवसायी अरूणकुमार चौधरीसहित तीन जनालाई थुनामुक्त गर्न आदेश दिने न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु पठाइएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आइतबार आचार्यलाई मुगु जिल्ला अदालतमा काजमा पठाउने निर्णय गरेका हुन् ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश आचार्यले माघ २२ गते दुई दिनभित्र अनुसन्धान सक्न वा अनुसन्धानको कार्यमा सहयोग गर्नका लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पूरा गर्न सीआईबीलाई आदेश दिएको थियो । यस आदेशलाई लिएर न्यायालयको आलोचना भएको थियो ।
बाँसवारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोपमा सीआईबीले माघ १८ गते चौधरीलाई पक्राउ गरी अनुसन्धान थालेको थियो । उनीहरूलाई माघ २४ गते रिहा गरिएको थियो ।
तत्कालीन च्याम्पियन फुटवेयरका सञ्चालक चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई पक्राउ परेका थिए।