सामाजिक फीड,
काठमाडाैँ, २६ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिकूल बकपत्र गर्ने एक जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
ईलाका प्रहरी कार्यालय मिर्चैया सिराहाका प्रहरी सहायक निरीक्षक सचिनकुमार भदैसवार प्रतिवादी रहेको मुद्दामा प्रतिकूल बकपत्र गर्ने व्यक्तिविरुद्ध शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरिएको हो । मुद्दा दायर गरिएको व्यक्तिको नाम खुलाइएको छैन । परिवर्तित नाम ‘मिर्चैया १(२०८०)’ ले आयोगका अनुसन्धान अधिकृतसमक्ष गरेको कागजको प्रतिकूल हुने गरी बकपत्र गरेको अख्तियारको दाबी छ ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक भदैसवार २०७९ चैत्र ३० गते ९ हजार घुससहित पक्राउ परेका थिए । भदैसवारविरुद्ध २०८० असार ५ गते विशेष अदालतमा मुद्दा दायर गरिएको थियो ।
यही मुद्दाको अनुसन्धानका क्रममा घुस दिने व्यक्तिले नै प्रतिकूल बकपत्र दिएका हुन् । घुसवापत् दिएको ९ हजार नै बिगो काम गरी अख्तियारले ती व्यक्ति परिवर्तित नाम ‘मिर्चैया १(२०८०)’ माथि मुद्दा दायर गरेको हो ।
