Samajik Feed – News Portal from Nepal

समाजिक फीड

काठमाडौ, माघ २६ गते ।

राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई भव्यतापूर्वक मनाउने सरकाले निर्णय गरेको छ ।

आगामी फागुन ६, ७ र ८ गते तीन दिन विविध कार्यक्रम आयोजना गरेर दिवस मनाउने सरकारले निर्णय गरेको हो ।

प्रजातन्त्र दिवस कसरी मनाउने विषयमा निर्णय गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठक बसेको थियो ।

बैठकले आगामी फागुन ६ गते प्रजातन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटकलगायत जनचेतनामूलक कार्यक्रमको निर्माण, सञ्चालन तथा प्रसारण गर्ने व्यवस्था मिलाउने, राष्ट्रियस्तरका छापा सञ्चार गृहलाई दिवसका उपलक्ष्यमा विशेषाङ्क/स्मारिका प्रकाशन एवं प्रजातन्त्रको बहुपक्षीय आयामलाई उजागर गर्ने विभिन्न लेख–रचनाहरूको सँगालो प्रकाशन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, सङ्घ–संस्थाका कार्यालयका छत, वरण्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने र साँझ मण्डला, दरबार स्क्वायर जस्ता क्षेत्र एवं घरघरमा दीप प्रज्वलन गरिनेछ ।

यस्तै सबै जिल्लाहरूमा सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने, जिल्लास्तरमा फरक क्षमता भएका विद्यार्थीले अध्ययन गर्ने विद्यालयमा उपयुक्त हुने शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्ने कार्यक्रम सञ्चालन गर्ने सरकारको निर्णय छ ।

बैठकले रेडियो नेपाल तथा नेपाल टेलिभिजनबाट प्रजातन्त्र दिवसका अवसरमा जागरण गीत प्रसारण गर्ने र अन्य रेडियो, एफएम तथा टेलिभिजनहरूलाई समेत प्रसारणका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।

गणतन्त्र स्थापना पछि प्रजातन्त्र दिवस ओझेलमा परेको थियो । अहिले नेपाली कांग्रेससहितको गठबन्धन सरकारले भने तीन दिनसम्म विविध कार्यक्रमका साथ प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ ।

२००७ सालमा जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।

प्रजातन्त्र स्थापनाका लागि कांग्रेसको नेतृत्वमा सशस्त्र क्रान्ति नै भएको थियो । उक्त क्रान्तिलाई तत्कालीन राजा त्रिभुवनले साथ दिएपछि प्रजातन्त्र स्थापना सम्भव भएको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *