Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, माघ २५ गते ।

बारा जिल्लास्थित वनदेवी सामुदायिक वनको जग्गा अतिक्रमण प्रक्ररणमा ३५ जना विरुद्ध बारा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

झन्डै २० हेक्टर राष्ट्रिय र सामुदायिक वनको जग्गा अतिक्रमण गरेको अभियोगमा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सिद्धबहादुर थापासहित ३५ जनाविरुद्ध मुद्दा परेको हो ।

निजगढ नगरपालिका वडा नम्बर–२ सिगौलस्थित वनदेवी सामुदायिक वनको जग्गा गुम्बा, मन्दिर, विद्यालयजस्ता सङ्घ–संस्थालाई वितरण गरेको र एक बिगाहा एक कट्ठा जग्गा विभिन्न व्यक्तिलाई बेचबिखन समेत गरेको अनुसन्धानमा खुलेपछि मद्दा दर्ता गरिएको हो ।

उपभोक्ता समितीका अध्यक्ष थापासहित निवर्तमान वडाध्यक्ष तथा लोकप्रिय प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव ढोडारी, निजगढ २ बस्ने झलकबहादुर राई, मन्दिर निर्माण समितिका अध्यक्ष राधाकृष्ण पुडासैनी, नेत्रबहादुर पाख्रिन, टासी छोइलिङ्ग गुम्बाका अध्यक्ष गणेशबहादुर लोप्चन, नोभान भोलान, ओमसाङ्ग लामा, कृष्ण प्रणामी मन्दिर निजगढ ३ का अध्यक्ष रघुनाथ बझगाई लगायत ३५ जना विरुद्ध मुद्दा दर्ता भएको हो ।

जग्गा अतिक्रमण भएको आरोपमा २०७३ साल असार २० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको थियो ।

त्यसको ४ वर्षपछि २०७७ साल असार ११ गते अख्तियारले र २०७९ साल पुस २१ गते राष्ट्रिय सतर्कता केन्द्रले डिभिजन वन कार्यालय बारालाई आवश्यक कारबाहीका लागि पत्राचार गरेको थियो ।

सोही क्रममा गत पुस २८ गते डिभिजन वन कार्यालयले वनदेवी सामुदायिक वनका बहालवाला अध्यक्ष थापालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो ।

अतिक्रमण भएको वनको जग्गा भागबन्डा लगाएर ९ वटा सङ्घ–संस्थाले ठेक्कामा केराखेती गरेर सो बापत भएको लाखौँको आम्दानी समेत हिनामिना गरेको आरोप छ ।

सामुदायिक र राष्ट्रिय वनको जग्गामा टासी छ्योलिङ्ग गुम्बाले २ बिगाहा, शिव मन्दिरले १४ कट्ठा, नेपाल राष्ट्रिय उमाविले ७ बिगाहा, कृष्ण प्रणामी मन्दिरले २४ कट्टा, सरस्वती निमावि ले ३ बिगाहा, नेपाल राष्ट्रिय प्राविले साढे २ बिगाहा, लोकप्रिय प्रावि ले ५ बिगाहा, बौद्ध गुम्बाले ३ बिगाहामा केरा खेती गर्न ठेक्का दिएका छन् भने डेढ बिगाहामा सार्वजनिक पोखरी समेत रहेको छ ।

सो वनको जग्गामा हाल ११ घरधुरीले करिब १२ कट्ठा जग्गा भोग चलन गर्दै आएका छन् । साथै लोकप्रिय आधारभूत विद्यालयको नाममा राखेर अध्यक्ष सिद्धबहादुर थापाले विभिन्न व्यक्तिहरूलाई किनबेच समेत गरेको भेटिएको वन कार्यालयले जनाएको छ ।
यस मुद्दामा जिल्ला अदालत बारामा आजदेखि थुनछेक बहस हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *