Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

जनकपुरधाम, २३ माघ । केही शक्तिहरू राजतन्त्र फर्काउने षड्यन्त्र रचेको भन्दै यसको विरोधमा अग्रसरता देखाउन विभिन्न राजनीतिक दलका नेताहरूले सर्वसाधारणसँग अपिल गरेका छन् ।

मधेश प्रदेशमा सक्रिय विभिन्न राजनीतिक दलका नेताहरूले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी यस्तो अपिल गरेका हुन् । जनतालाई भ्रमित गरी केही प्रतिक्रान्तिवादी शक्तिहरूले जनताको सर्वोच्चता र संविधानका प्रावधानविपरीत अराजकता फैलाउन खाजेको आरोप लगाउँदै उनीहरूले गणतन्त्रवादी बौद्धिकवर्ग, युवा, विद्यार्थी, मजदुर, किसान, व्यावसायी तथा नागरिक समाजलाई यो कार्यविरुद्ध अग्रसरता देखाउन अपिल गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘जनताको सर्वोच्चता र संविधान को प्रस्तावना र त्यस्को अपरिवर्तनीय प्रावधान विपरीत अराजकता फैलाउने तत्वहरूमाथि सरकार र प्रशासनको कारगर कारबाहीको आभावले आउने दिनहरूमा स्थिति अनियन्त्रित नहोस् भन्नेतिर सरकार र प्रशासनिक निकायहरूको ध्यानाकर्षण गर्दै यसका विरुद्ध सम्पूर्ण गणतन्त्रवादी बौद्धिकवर्ग, युवा, विद्यार्थी, मजदूर-किसान, व्यवसायी र नागरिक समाजका सबै अंगलाई आ-आफ्नो स्तरबाट सक्रियताका साथ अग्रसर हुन अपिल गर्दछौँ ।’

अराजकता फैलाउने तत्वहरूलाई कारबाही नगरिएकाले आउने दिनहरूमा स्थिति अनियन्त्रित हुन सक्ने भएकाले सरकार र प्रशासनलाई ध्यानाकर्षणसमेत गराइएको छ ।

नेपालमा राजतन्त्रको इतिहास आतातायी रहेको दाबी गर्दै यो व्यवस्थाको वकालत गर्नेहरू कस्ता चरित्रका होलान् भन्ने स्पष्ट रहेको पनि विज्ञप्तिमा भनिएको छ । उनीहरूले नेपाली जनता संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ युगमा प्रवेश गरिसकेको पनि बताएका छन् ।

नेताहरूले विज्ञप्तिमा भनेका छन्, ‘जनताको लामो संघर्ष र अमर शहीदहरुको बलिदानले सामन्ती, निरंकुश, केन्द्रीकृत, एकात्मक राज्य व्यवस्था र त्यसको मूल केन्द्र निरंकूश राजशाहीको अन्त्य गर्दै नेपालका जनताले संघीय लोकतान्त्रिक गणतन्त्रको खुला आकाशमा नयाँ युगमा प्रवेश गरेका छन् । यसले जनताको सर्वोच्चता अर्थात् देश र राज्यको सम्पूर्ण शक्ति जनतामा निहित रहेको स्थापित भएको हो । जनता नै सर्वोच्च र सार्वभौमसत्ता सम्पन्न शक्ति हो ।’

शहीदहरूको अमूल्य शहादत र जनताको निरन्तरको संघर्षले प्राप्त यस उपलब्धिको संरक्षण र सम्बर्द्धनका लागि गणतन्त्रवादीहरू कुनै पनि मूल्य चुकाउन तयार रहेको भन्दै प्रतिक्रियावादीहरूलाई सचेत गराएका छन् ।

संयुक्त विज्ञप्तिमा तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लाल, नेपाली कांग्रेस नेता तथा सांसद् रामसरोज यादव, नेकपा एमालेका नेता राजकिशोर यादव, नेता तथा साहित्यकार रोशन जनकपुरी, नेकपा एकीकृत समाजवादीका नेता रामचन्द्र पण्डित, नेकपा माओवादी केन्द्रका नेता श्रीनारायण परिहस्त, नेकपा एकीकृत समाजवादीका नेता शीतल झा, तमलोपाका वरिष्ठ नेता डा.विजयकुमार सिंह, नेपाली कांग्रेसका जीवनाथ चौधरी, एमालेका सन्तोष यादव र तमलोपाका रामजी रायले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *