सामाजिक फीड,
काठमाडौँ, २२ माघ । काठमाडौँ जिल्ला अदालतले उद्योगी अरुण चौधरीलाई मंगलबार रिहा गर्न आदेश दिएको छ । म्याद थपका लागि उपस्थित गराउँदा अदालतले माघ २२ देखि लागू हुने गरी दुई दिनको म्याद थप गरेपनि मंगलबारसम्ममा रिहा गर्न आदेश दिएको हो । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्नका लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पूरा गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई भनेको छ ।
मुलुकी फौजदारी कार्यविधि सहिता २०७४ को दफा १४ (६) वमोजिम अदालतले उक्त आदेश दिएको हो । जिल्ला सरकारी वकिल कार्यालयबाट म्याद थप गर्न माग गर्दा आधार लिएका विषयवस्तुमा प्रतिवादीहरुलाई २५ दिनसम्म नै हिरासतमा राखी अनुसन्धान गर्ने पर्ने सम्मको अवस्था नदेखिएको अदालतको ठहर छ ।
चौधरीलाई बिहीबार सीआईबीको टोलीले काठमाडौँको लैनचौरबाट पक्राउ गरेको थियो । उनलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला अदालतले आदेश दिएको थियो ।
अनधिकृत रूपमा सरकारी जग्गा व्यक्तिको नाममा हडपेको आरोप उनीमाथि लागेको हो । बाँसबारीको सरकारी जग्गा अनधिकृत रूपमा व्यक्तिको नाममा दर्ता गरिएको आरोप चाैधरीमाथि लगाइएको छ ।