Samajik Feed – News Portal from Nepal

जनकपुरधाम, २० माघ । सुनचाँदी व्यवसायीलाई पक्राउ गरी मुद्दा चलाएको भन्दै जनकपुरधामका व्यवसायीहरूले आइतबार केही घण्टा बजार बन्द गर्ने भएका छन् । जनकपुरधाम उद्योग वाणिज्य संघले आइतबार दिउँसो २ बजेसम्मका लागि बजार, उद्योग र व्यावसायिक प्रतिष्ठान बन्द गर्न आह्वान गरेको हो ।

व्यवसायीमाथि झुटो मुद्दा चलाइएको दाबी गर्दै संघले प्रहरीलाई कारबाही हुनुपर्ने मागसहित मुख्यमन्त्री कार्यालय, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउने भएको छ । ज्ञापनपत्र बुझाउनका लागि २ बजेसम्म बन्द आह्वान गरिएको हो ।

संघका अध्यक्ष जितेन्द्र महासेठले प्रहरीको व्यवहारले उद्योगी–व्यवसायी असुरक्षित महसुस गरेको बताए । उनले राजश्व छलेको आरोपमा व्यवसायीहरूलाई पक्राउ गरी राजश्व अनुसन्धान कार्यालय पथलैयामा झुटा मुद्दा लगाइएको दाबी गरेका छन् । बिल बिजकबिना सुनको अबैध कारोबार गरेको भन्दै प्रहरीले जनकपुरधामका सुनचाँदी व्यावसायीहरू बलराम साह, अरूण ठाकुर तथा सिरहा मिर्चैयाका अजय साह सोनार र संजय साह सोनारलाई पक्राउ गरेको थियो । उनीहरू धरौटीमा रिहा भइसकेका छन् ।

राजश्व कार्यालय पथलैयाले बलरामबाट ७ लाख ८० हजार ९७०, अरुणबाट ४ लाख २७ हजार ३२५, सञ्जयबाट ७ लाख ८० हजार ७०८ र अजयबाट ४ लाख २७ हजार ३२५ रुपैयाँ धरौटी लिएर छाडेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *