Skip to main content

समाजिक फीड

चितवन, माघ १९ गते ।

चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि थप तीन साता दिउँसो सडक बन्द गरेर काम गर्न लागिएको छ ।

तुइन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि फेरी सडक बन्द गरेर काम गर्न लागिएको हो ।

पुल बनाउनका लागि पहाड काट्न पुस ७ गतेदेखि सो सडक मध्याह्न १२ बजेदेखि दिउँसो चार बजेसम्म बन्द हुँदै आएको छ।

सुरुमा पुस २८ सम्मका लागि भनेर पहाड काट्न बाटो बन्द भएको थियो। यो समयमा काम नसकिएपछि माघ २० सम्मलाई समय थपिएको थियो ।

तर यतिका दिनसम्म पनि काम सम्पन्न नभएपछि फेरि म्याद थप गरिएको हो।

जिल्ला प्रशासन कार्यालय चितवनमा भएको जिल्ला सुरक्षा समितिको बैठकले थप तीन साता सडक बन्द गरेर काम गर्ने निर्णय गरेको नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यले जानकारी दिए।

उनले अन्तिम पटकका लागि तीन साता सडक बन्द गरेर काम गर्न लागिएको बताए।

सो सडकमा बनाइनुपर्ने १९ पुलमध्ये चार वटा चार वर्षअघि निर्माण गरिएका थिए भने बाँकी १५ पुल एकै साथ ठेक्का लगाइएको थियो। विसं २०७६ चैत १० गतेदेखि पुल निर्माण थालिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *