रौतहट, १५ माघ । रौतहटको गौरमा एक महिलाको शंकास्पद मृत्यु भएको छ । गौर नगरपालिका–४ गढवा टोलमा सुनिल बैठाकी २१ वर्षीय श्रीमती पुनम बैठाको मृत्यु शंकास्पद देखिएको हो । दाइजोको निहुँमा हत्या भएको माइती पक्षले आरोप लगाएको छ ।
मौलापुर नगरपालिका बौधाटोल घर भई हाल गौर–४ मा बस्दै आएकी पुनम दुई दिनअघि घरमा पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । पुनमले घरको ढोकाभित्रैबाट लगाएर आत्महत्या गरेको घरका सदस्यहरूले बताउँदै आएका छन् । बिहार मोतिहारीको रुसुलपुर घर भई हाल काठमाडौँमा व्यापार गरी बस्दै आएका मृतकको बुवा संजय बैठाले २०७७ साल जेठ महिनामा सामाजिक परम्पराअनुसार छोरी पुनमको सुनिल बैठासँग विवाह गरेको बताए ।
दाइजोको विषयलाई लिएर छोरी पुनमलाई ससुरा पक्षले शारीरिक र मानसिक यातना दिने गरेको आरोप लगाउँदै उनले सुनिल बैठा र उनकी आमा मिलेर छोरीको हत्या गरेर घरमा झुण्ड्याएको दाबी गरेका छन् । बिहेमा नगद रुपैयाँ कम दिएको, पलङ नदिएको भन्दै यातना दिँदै आमाछोरा मिलेर छोरी पुनमको हत्या गरेको मृतकका बुबाको दाबी छ ।
माइती पक्षले जिल्ला प्रहरी कार्यालय रौतहटले जाहेरी लिनसमेत नमानेको गुनासो गरेको छ । तर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी एलिजा गिरीले मृतकको पोष्टमार्टम रिपोर्ट नआएसम्म र घटनाबारे अनुसन्धान पूरा नभएसम्म हत्या हो कि आत्महत्या भनेर किटान गर्न नमिल्ने बताइन् ।