Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १४ माघ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा मधेश प्रदेशले लुम्बिनीलाई पराजित गरेको छ ।

काठमाडौँको मुलपानी क्रिकेट मैदानमा भएको खेलमा मधेशले नौ रनको रोमाञ्चक जित निकालेको हो ।

टस हारी पहिले ब्याटिङ गरेको मधेशले ४१.३ ओभरमा अलआउट हुनुअघि एक सय ६९ रन बनाएको थियो । जवाफी ब्याटिङमा लुम्बिनी प्रदेशले ४०.५ ओभरमा अलआउट हुनुअघि एक सय ६० रन मात्र बनाउन सक्यो । खराब मौसमका कारण निर्धारित समयभन्दा ढिलो सुरु भएकाले खेल ४२–४२ ओभरमा खेलाइएको थियो । लुम्बिनीका लागि प्रज्ज्वल थापाले ६२ रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन ।

प्रज्ज्वलले ७९ बलको सामना गरी तीन छक्का र चार चौका हिर्काएका थिए । अभिषेक गौतमले पनि २६ रन बनाएका थिए । दिलसाद अलीले २२ र ओपनर मृनाल गुरुङले २१ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

मधेश प्रदेशका बलर प्रदीप पासवान एक्लैले ६ विकेट लिए । उनले नौ ओभरमा ३० रन खर्चिएका थिए । अभिषेक तिवारीले दुई तथा हरिशंकर शाह र रुपेश सिंहले पनि एक–एक विकेट हात पारे । त्यसअघि मधेश प्रदेशका लागि अरनिको यादवले सर्वाधिक ३८ रन बनाएका थिए । उनले ५० बलमा तीन चौका पनि हिर्काए । अभिषेक तिवारीले २६ रन जोडे । उनले २८ बलमा चार चौका पनि प्रहार गरेका थिए ।

पवन सर्राफले पनि २६ रन बनाए । उनले ४८ बलमा एक छक्का र तीन चौका हिर्काए । मयान यादवले २२ रन बटुले । ओपनर अनिल साह १६ रन बनाउँदै पेभेलियन फर्किए । प्रदीप पासवानले पनि टोलीको खातामा १० रन थपेका थिए । लुम्बिनी प्रदेशका बलर वीर मगर एक्लैले चार विकेट लिए । उनले ८.३ ओभरमा ३४ रन खर्चिएका थिए । अभिषेक गौतमले पनि तीन विकेट हात पारे । उनले नौ ओभरमा ३७ रन खर्चिए । कृष्ण कार्की, मोहम्मद हुसैन र निर्मल गुरुङले पनि एक–एक विकेट हात पारे ।

प्रतियोगितामा ९ खेल खेलेको मधेश प्रदेशको यो छैटौँ जित हो । तीन खेलमा मधेश प्रदेश पराजित भएको छ । सातौँ खेल खेलेको लुम्बिनी प्रदेशको भने यो छैटौँ हार हो । एक खेलमा लुम्बिनी प्रदेश विजयी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *