Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, माघ १४ गते ।

भारतीय राज्य बिहारका मुख्यमन्त्री नितीश कुमारले पदबाट राजीनामा दिएर प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको (नेशनल डेमोक्रेटिक अलाएन्स) एनडिए गठबन्धनमा फर्केका छन् ।

आठौं पटकका लागि मुख्यमन्त्री पदका लागि शपथ लिएको १८ महिना नपुग्दै एनडिए गठबन्धनमा फर्किन उनले राजीनामा दिएका हुन् । आजै बेलुकी उनी ९ औँ पटक मुख्यमन्त्री बन्दैछन् ।

राजधानी पटनामा सञ्चारकर्मीसँग बोल्दै नितीशले भने, ‘आज मैले आफ्नो पदबाट राजीनामा दिएको छु। हामीले पार्टीका सदस्यहरुको सल्लाह मान्यौं र सरकारलाई समाप्त गर्ने प्रस्ताव गर्‍यौं। हामी आज गठबन्धनबाट अलग भएका छौं।’

नीतीश सरकार परिवर्तन गर्ने कलामा आफू माहिर रहेको पुनः एक पटक प्रमाणित गरिदिएका छन् । करिब डेढ वर्ष राष्ट्रिय जनता दल (राजद) र भारतीय राष्ट्रिय कांग्रेसको समर्थनमा मुख्यमन्त्री बनेका नीतीश कुमारले फेरि भाजपासँग गठबन्धन गरेका हुन् ।

नितीश कुमारले सन् २०२२ को अगस्टमा बीजेपीको साथ छाड्दै महागठबन्धनमा सामेल हुने निर्णय गरेका थिए। त्यतिबेला उनले बीजेपीका कारण राज्यमा आफूहरु कमजोर भइरहेको निष्कर्ष निकालेका थिए।

राज्यपाल राजेन्द्र आर्लेकरलाई राजीनामा बुझाउँदै नितीश कुमार बीजेपीले आफूहरुलाई कमजोर बनाउन भूमिका खेलेकाले उक्त पार्टीसँग सत्ता सहकार्य गर्न नसकिने निष्कर्ष सुनाउँदै नितीश कुमारले ९ अगस्ट २०२२ मा एनडीएसँगको यात्रा टुंग्याएका थिए।

त्यसपछि उनी प्रदेशको सबैभन्दा ठूलो पार्टी राष्ट्रिय जनता दल (आरजेडी) सँग मिलेर आठौंपटक मुख्यमन्त्री बनेका थिए। त्यतिबेला नितीशलाई मुख्यमन्त्री बनाउन आरजेडीसँगै अन्य साना–ठूला गरी ७ दलले समर्थन गरेका थिए। सत्ताका लागि सधैँ सम्झौत गरिरहेकाले नितीशलाई विपक्षीहरुले ‘पल्टुराम’ को संज्ञा दिँदै आएका छन् ।

नीतीश सन् २००५ यता आठ महिनामात्र मुख्यमन्त्रीको कुर्सीबाहिर रहेका छन् । सन् १९५१ को मार्च १ मा जन्मिएका निशित कुमार पहिलो पटक सन् २००० मा मुख्यमन्त्री बनेका थिए ।

छोटो समयको मुख्यमन्त्रीको कार्यकालपछि उनी अटल बिहारी बाजपेयी सरकारमा मन्त्री बने । रेलमन्त्रीका रूपमा उनले भारतीय रेलसेवामा ुचामत्कारिक सुधारु गरेका थिए ।

सन् २००५ मा दोस्रो पटक मुख्यमन्त्री बनेपछि नीतीशले ‘सुशासन बाबु’ का रूपमा चिनिए । विकासको मामिलामा पुछारमा रहेको बिहारमा उनले कानुनी शासन स्थापित गरे । सडक, पुल लगायतका संरचनाको उल्लेख्य विकास गरे र शैक्षिक क्षेत्रमा आमूल परिवर्तन ल्याए ।

मुख्यमन्त्रीका रूपमा उनले एक लाखभन्दा बढी शिक्षकहरू नियुक्त गरे । प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकले काम गर्ने वातावरण सिर्जना गरे र कैयौं गाउँलाई झलमल्ल पारे । नयाँ सडकहरू बनाए, महिला साक्षरतामा उल्लेख्य सुधार गरे । समग्रमा बिहारीको औसत आम्दानी दोब्बर बनाइदिए ।

तर ‘सत्ताको चास्नीमा डुबिरहन’ चाल्ने पटकपटकको कित्ता परिवर्तन गर्ने कदमले पछिल्लो समय नीतीशको छवि भने धूमिल हुँदै गएको छ । अझ भनौं, राजनीतिको पूर्वार्द्धमा ‘सुशासन बाबु’ को उपनामले चर्चित नीतीश अब ‘कुर्सीको लिसो’ का रूपमा चिनिन थालेका छन् ।

यसअघि २०१५ मा जनता दल युनाइटेड ९जदयू०, राजद, कांग्रेस र वामपन्थी दलहरूले महागठबन्धन बनाएर भाजपाविरुद्ध चुनाव लडेका थिए । उनीहरूले सरकार बनाए पनि नीतीशले बीचमै गठबन्धन तोड्दै भाजपासँग सहकार्य गरेका थिए । त्यसपछि सन् २०१७ मा उनी एनडीए गठबन्धनमा गएका थिए । सन् २०१७ मा ७१ सिट भएको जदयूले भाजपासँगको तालमेलमा सन् २०२० को चुनावमा ४५ सिट जितेको थियो ।

केही दिन अघिसम्म भाजपाविरुद्ध आगोु ओकलिरहेका नीतीश भाजपाको कित्तामा पुग्नु राजदसँगको खिचातानी मात्र नभई २०२४ को संसदीय चुनावको गणितलाई समेत हेरिएको विश्लेषकहरू बताउँछन् । नीतीश डेढ वर्षअघि मात्र राजद, भारतीय राष्ट्रिय कंग्रेस र वाम दलहरूको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

कुर्सीमोहसँगै सत्ता राजनीतिका खेलाडीका रूपमा परिचय बनाएका नीतीश भारतीय राजनीतिक इतिहासमा नवौंपल्ट मुख्यमन्त्री बनेर अर्को कीर्तिमान कायम गर्दैछन् । उनी यस्तो मुख्यमन्त्री हुन् जसको पार्टीले कहिल्यै पूर्ण बहुमत ल्याएको छैन, तर पनि सन् २००५ यता ८ महिनाबाहेक राज्य सरकारको नेतृत्व सम्हालेका छन् ।

भारतमा सन् २०२४ मा लोकसभा र २०२५ मा बिहार विधानसभा चुनाव हुँदै छ । सन् २०१९ को लोकसभा चुनावमा बिहारले एनडीएलाई ठूलो जित दिलाएको थियो । बिहारका ४० मध्ये ३९ सिट एनडीएले जितेको थियो ।

सन् २०२४ को लोकसभा चुनावमा प्रतिपक्ष नेताका रूपमा नीतीशसहित पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीसम्मका नेताहरूले चुनौती थप्ने देखिएको थियो। नीतीशले सत्तापल्टीसँगै प्रतिपक्ष अर्थात इन्डिया गठबन्धनको समीकरण पनि फेरबदल हुनसक्ने सम्भावना रहेको छ । देशव्यापी रूपमा सशक्त प्रतिपक्षको सामना नगरेको भाजपाले कम्तीमा अझै एक कार्यकाल सरकार बनाउने विश्लेषकहरूको दाबी छ ।

७२ वर्षीय नीतीश बिहार विद्युत् बोर्डका पूर्वइन्जिनियर हुन् । सन् १९७० को दशकमा उनी समाजवादी नेता राममनोहर लोहिया र जयप्रकाश नारायणको आन्दोलनमा सहभागी भएका थिए । समाजवादी पार्टीको पटकपटकको विभाजन र एकीकरणपछि नीतीशले सन् २००३ मा जदयू गठन गरेका हुन् ।

बिहारमा राजद ७९ सिटसहित सबैभन्दा ठूलो दलका रूपमा रहेको छ । त्यस्तै भाजपा ७८ दलसहित भाजपा दोस्रो ठूलो दल हो भने नीतीश कुमारको जनता दल युनाइटेड (जदयू) ४५ सिटसहित तेस्रो स्थानमा रहेको छ । २४३ सदस्यीय बिहार विधानसभामा भारतीय राष्ट्रिय कांग्रेस १९, सीपीआई एमएल १२, सीपीआई २, सीपीआई एम २ र हिन्दुस्तानी अवाम मोर्चाका ४ सांसद रहेका छन् । २४३ सदस्यीय बिहार विधानसभामा सरकार गठनका लागि १२२ विधायकको समर्थन आवश्यक पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *