चितवन, १४ माघ । चितवनमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा बाबुको मृत्यु भएको छ भने छोरी घाइते भएकी छिन् ।
भरतपुर महानगरपालिका–१६ शिवघाटमा बाबु छोरी सवार बा. प्र. ००३ प ८६२४ नम्बरको मोटरसाइकललाई बा. प्र. ००१ च ११९७ नम्बरको जिपले ठक्कर दिएको हो । मंगलबार साँझ शरणपुरबाट नारायणगढतर्फ आउँदै गरेका बेला भएको दुर्घटनामा स्थानीय ४१ वर्षीय मधुसुदन खत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मोटरसाइकलको पछाडि बसेकी मधुसुदनकी छोरी १५ वर्षीया अपेक्षा खत्री गम्भीर घाइते भएकी छिन् । दुवै खुट्टामा चोट लागेको अपेक्षाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी चालक र जिपलाई नियन्त्रणमा लिइएको छ ।