सिरहा, १३ माघ । सिरहाको मिर्चैयामा एक जनाको घर भत्काइएपछि विरोध सुरु भएको छ । शनिबार बिहान करिब ३ बजे मिर्चैया नगरपालिका–६ का राजेशप्रसाद सिंहको घर मिर्चैयाकै एक स्थानीयले भत्काइदिएका हुन् ।
मिर्चैया नगरपालिका–५ का राजदेव कापरीले आफ्ना मान्छेहरू ल्याएर भत्काइदिएको पीडित सिंहको आरोप छ । यही विषयलाई लिएर शनिबार अपरान्ह पीडित तथा स्थानीयवासीले पूर्वपश्चिम राजमार्ग नै अवरुद्ध पारे ।

टायर बालेर प्रदर्शन गरेका उनीहरूले घर भत्काउने कापरीलाई तत्काल पक्राउ गर्न माग गरेका छन् । उनीहरूबीच चल्दै आएको जग्गा विवादसम्बन्धी मुद्दा अदालतमा विचारधीन छ ।
सोही विषयमा नापजाँचका लागि शनिबार सिरहा जिल्ला अदालतबाट अमिन आउने भनिएको थियो । तर, बिहान ३ बजे नै कापरीले मान्छेहरू ल्याएर घर भत्काइदिएको पीडित परिवारको आरोप छ ।