काठमाडाैँ, १२ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शनिवारदेखि हुलाकी राजमार्ग क्षेत्रमा संवाद यात्रा सुरु गर्ने भएका छन् । हुलाकी राजमार्ग वरिपरीका सर्वसाधारणसँग अन्तर्क्रिया गर्नका लागि मेची–महाकाली संवाद यात्रामा निस्किन लागेको महामन्त्री थापाले बताएका हुन् ।
यो यात्रा माघ २६ गतेसम्म चल्ने पनि उनले बताए । बिहान ७ देखि ९ बजेसम्म गरिने संवादका लागि एक जिल्लामा न्यूनतम पाँच वटा कार्यक्रम गर्ने उनको तयारी छ । पहिलो संवाद झापाको छोटी भन्सारबाट सुरु हुनेछ ।
संवाद यात्रामा महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरी २१ जिल्ला पुग्ने कार्यक्रम छ ।
साथै कांग्रेसले शनिबारदेखि नै २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्दैछ । महामन्त्री थापाले सोही अभियान अन्तर्गत आफूले संवाद यात्रा सुरु गर्न लागेको बताएका छन् ।