Samajik Feed – News Portal from Nepal

सिरहा, १२ माघ । सिरहाको मिर्चैयास्थित मिर्चैया अस्पतालको लापरबाहीले एक महिलाको मृत्यु भएको परिवारजनले आरोप लगाएका छन् । बिहीबार बिहान मिर्चैया अस्पतालमा नर्मल सुत्करी भएकी मिर्चैया नगरपालिका–५ की २६ वर्षीया अल्काकुमारी साहको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको हो ।

रक्तश्राव नरोकिएपछि बेलैमा चिकित्सकले रेफर नगर्दा अकालमै अल्काको ज्यान गरेको मृतकका श्रीमान् ईन्द्रजीतकुमार साहले आरोप लगाए । अल्कालाई बेथा लागेपछि बुधार राति पौने ८ बजे मिर्चैया अस्पतालमा भर्ना गरिएको थियो ।

नर्मल सुत्केरी भए पनि रक्तश्राव नरोकिएपछि चिकित्सकले भने बमोजिम आफूहरू रगतको जोहो गर्नतिर लागेको साहले बताए । तर, अन्तिम अवस्थामा मात्र चिकित्सकले रेफर गरेको उनको भनाइ छ । रेफर गराएर एम्बुलेन्समा विराटनगर लैजाने क्रममा सिरहाको भगवानपुरमा उनले बाेल्न छाडेकी थिइन् । उनलाई विराटनगरस्थित नोबेल मेडिकल कलेज पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

बिहान साढे पाँच बजेतिर सुत्केरी भएको थियो भने रेफर बिहान पौने ९ बजेतिर गरिएको पनि उनका श्रीमान् साहले बताए । चिकित्सकको लापरबाहीले ज्यान गएको आरोप लगाउँदै अल्काका परिवारजनले शव अस्पतालको गेट बाहिर राखेर प्रदर्शन गरेका छन् ।

उनीहरूले घटनामा संलग्नहरूलाई कारबाही र उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । यता, मिर्चैया अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सारिका गोइतले अस्पताल भर्ना भएकी अल्काको नर्मल डेलिभरी भएको र साल निस्किएपछि सामान्यभन्दा बढी रक्तश्राव भएको बताइन् । बिरामीलाई बचाउन अन्तिमसम्म प्रयास गरेको डा‍. गोइतको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *