Samajik Feed – News Portal from Nepal

पोखरा, ११ माघ । क्यानडा पठाइदिने भन्दै ठगी गर्ने एक क्यानेडियन र एक भारतीय नागरिकसहित ६ जना पक्राउ परेका छन् ।

कास्की प्रहरीले मंगलबार पोखराको बुद्धचोकको होटल टास्कमा क्यानेडा लैजाने प्रलोभन देखाएर अन्तर्वार्ता लिन बोलाएको सूचनाका आधारमा प्रहरीले छापा हान्दा ६ जनालाई पक्राउ परेका हुन् । पोखरा महानगरपालिका–१३ पाटनवेशीकी ६५ वर्षीया पार्वती सुनारले छोरी क्यानेडामा रहेकाले सिधैँ भिषा निकाल्ने प्रलोभन देखाएर अन्तर्वार्तामा बोलाएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए ।

पक्राउ पर्नेमा पार्वती सुनारसहित पोखरा–९ महेन्द्रपुलकी ३७ वर्षीया रिता सुनार, स्याङजाको फेदीखोला गाउँपालिका–३ बस्ने ३२ वर्षीया सिमा सुनार, काठमाडौँ महानगरपालिका–१४ कलंकीका ३८ वर्षीय प्रदीप उपाध्याय रहेका छन् ।

त्यस्तै क्यानेडाका स्थायी ठेगानाका भएका ४५ वर्षीय राकेश जैसवाल र भारतको मध्यप्रदेश भोपालका ३२ वर्षीय इस्मित कौरसमेत पक्राउ परेका छन् । पक्राउ परेकालाई जिल्ला अदालत कास्कीबाट ठगीसम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *