Samajik Feed – News Portal from Nepal

काठमाडाैँ, १० माघ । मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले नश्लीय व्यवहारप्रति प्रहरीलाई संवेदनशील बनाउन प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई निर्देशन दिएका छन् । आयोगको कार्यालयमा बुधबार अध्यक्ष डा. दत्त र प्रहरी महानिरीक्षक कुँवरबीच भएको भेटमा अध्यक्ष डा. दत्तले यस्तो निर्देशन दिएका हुन् ।

उनले मधेशीलाई गाली गलौज, अपमानजनक शब्द प्रयोग गर्ने, नश्लीय व्यवहार गर्ने व्यक्ति वा संस्थालाई कारबाही गर्न प्रहरीलाई सचेत बनाउन पनि आईजीपी कुँवरलाई निर्देशन दिए । अध्यक्ष दत्तले आयोगमा दर्ता भएका नश्लीय व्यवहारसँग सम्बन्धित उजुरीमाथि कारबाही गर्न आयोगले समय समयमा प्रहरीलाई पत्राचार गरेपनि न्यून उजुरीमाथि मात्र कारबाही हुनु दुखद रहेको पनि बताए ।

उनले तराई मधेशमा दिन प्रतिदिन बढ्दै गएको घरेलु हिंसा रोकथाम गर्न आयोग र प्रहरीको समन्वयकारी भूमिका आवश्यक रहेकोसमेत बताए । अध्यक्ष डा.दत्तले नेपाल–भारत सिमामा देखा परेका विभिन्न समस्या समाधान गर्न आयोग र नेपाल प्रहरीको उच्चस्तरीय टोली अनुगमनका लागि समेत पठाउन आवश्यक रहेको बताउँदै यसका लागि आवश्यक सहजीकरण गरिदिनसमेत अनुरोध गरेका छन् ।

छलफलमा महानिरीक्षक कुँवरले प्रहरी नश्लीय व्यवहारका घटनाप्रति सचेत रहेको र आयोगसँग समन्वय तथा सहकार्य गरी आगामी दिनमा यस्ता घटनाहरूलाई न्यूनीकरण गर्न आवश्यक रणनीति बनाउने प्रतिबद्धता व्यक्त गरे । छलफलमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकराज तामाङ, वरिष्ठ प्रहरी उपरीक्षक शिशिर खनाल, आयोगकी उप–सचिव सविता डंगोलसहित उपस्थिति थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *