Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १० माघ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबारको खेलमा मधेश प्रदेश पराजित भएको छ । बुधबार काठमाडौँको मुलपानी क्रिकेट मैदानमा भएकाे खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई ६ विकेटले पराजित गरेको हो ।

जारी प्रतियोगितामा पाँच खेल खेलेको पुलिस क्लबले सबै खेलमा जित हासिल गरेको छ । सबै खेल जित्ने पुलिस क्लब एक मात्र टोली हो । यता, हालसम्म सात खेल खेलेको मधेश प्रदेशको भने यो तेस्रो हार हो । मधेश प्रदेश चार खेलमा विजयी भएको छ । पहिले ब्याटिङको निम्तो पाएको मधेश प्रदेशले २४ ओभरमै अलआउट हुनुअघि ९६ रन मात्र बनाउन सकेको थियो ।

जवाफी ब्याटिङमा पुलिस क्लबले भने १८.३ ओभरमै केवल चार विकेटको क्षतिमा ९९ रन बनाउँदै विजय लक्ष्य पार गर्‍यो । पुलिस क्लबका लागि ओपनर ब्याट्सम्यान सुनिल धमलाले २८ रन बनाए । ओपनर कुशल भुर्तेलले पनि टोलीको खातामा १९ रन थपे । विकेटकिपर ब्याट्सम्यान अर्जुन साउद सात रनमा आउट भए । दिलीप नाथले चार रन बनाए । अमित श्रेष्ठ १५ र आरिफ शेखले १६ रनमा अविजित रहे ।

पुलिस क्लबले अतिरिक्त रूपमा १० रन पाएको थियो । मधेश प्रदेशका बलर रञ्जित कुमार र अरनिको यादवले दुई–दुई विकेट लिए ।

यसअघि त्यसअघि मधेश प्रदेशका कुनै पनि ब्याट्सम्यान प्रभावकारी देखिएका थिएनन् । ओपनर ब्याट्सम्यान हरिशंकर शाहले २२ रन बनाए । मधेश प्रदेशका कप्तानसमेत रहेका हरिशंकरले ३३ बलको सामना गरी चार चौका पनि हिर्काए । छैटौँ नम्बरका ब्याट्सम्यान अरनिको यादवले पनि २३ रन बनाए । उनले २६ बलको सामना गरी एक छक्का र दुई चौका पनि हिर्काए । तल्लो क्रमका ब्याट्सम्यान अभिषेक तिवारीले अविजित ११ रन जोडे । उनले १९ बलमा एक छक्का प्रहार गरे ।

मधेश प्रदेशका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर अनिल शाह एक रनभन्दा अगाडि बढ्न सकेनन् । मयान यादव पनि पाँच रनमै पेभेलियन फर्किए । अनुभवी पवन सर्राफ पनि ६ रनको व्यक्तिगत स्कोरमै आउट भए । नीरज यादवले चार रन मात्र बटुल्न सके ।

प्रदिप पासवान एक र रुपेश सिंह पाँच रनमा पेभेलियन फर्किए । मधेश प्रदेशले अतिरिक्त रूपमा १५ रन पायो । पुलिस क्लबका बलर सागर ढकाल एक्लैले पाँच विकेट लिए । उनले नौ ओभरमा ४१ रन खर्चिएका थिए । ललित राजवंशीले पनि चार विकेट हात पारे । उनले पाँच ओभरमा दुई मेडन राख्दै केवल १२ रन खर्चिए । राशिद खानले पनि एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *