समाजिक फीड
जनकपुरधाम, माघ १० गते ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई तेस्रो पटक विश्वासको मत लिनुपर्ने भएको छ ।
प्रदेश सरकारबाट मंगलवार जनमत पार्टी बाहिरिएर समर्थन समेत फिर्ता लिएपछि मुख्यमन्त्री यादवलाई विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।
नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिन भित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नु पर्ने व्यवस्था छ ।
यसअनुसर अबको ३० दिन भित्र मुख्यमन्त्री यादवलाई तेस्रो पटक विश्वासको मत लिनु पर्ने छ ।
मधेस प्रदेशसभामा कुल सदस्य १०७ जना रहेकोमा बहुमत संख्याले उनको पक्षमा मतदान गर्नुपर्ने छ ।
जनमत पार्टीसँग १३ जना मात्र सांसद रहेकाले समर्थन फिर्ता लिएपछि सरकारलाई कुनै फरक नपरेपनि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने छ ।
यसअघि नेकपा एमाले सरकारबाट बाहिरिएपछि गत जेठ ३० गते मुख्यमन्त्री यादवले दोस्रोपटक विश्वासको मत लिएका थिए ।
उक्त समय सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमालेले समेत विश्वासको मत दिएपछि मुख्यमन्त्री यादवले सिंगो सदनको विश्वासको मत पाएका थिए ।
मधेश प्रदेशसभामा नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, जसपाका १८, लोकतान्त्रिक समाजवादी पार्टीका ९, नेकपा माओवादी केन्द्रका ९, नेकपा एकीकृत समाजवादीका ७, नेपाल संघीय समाजवादी पार्र्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक/एक जना सांसद छन्