Skip to main content

ललितपुर, ९ माघ । पाटन उच्च अदालतले एनसेलको खरिद बिक्री भएको सेयर दर्ता नगर्नू/नगराउनू भनी जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

सोमबार उच्च अदालतका न्यायाधीशहरू शालिग्राम कोइराला र श्यामकुमार भट्टराईको इजलासले एनसेलका बिक्री भएका शेयर दर्ता किताबमा दर्ता नगर्नू/नगराउनू भनी कम्पनी रजिष्ट्रार कार्यालयलाई दिएको आदेशलाई निरन्तरता दिन अन्तरिम आदेश जारी गरेको हो ।

मंसिर २१ गते उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

‘नेपाल दूर सञ्चार प्राधिकरणका तर्फबाट प्रस्तुत भएको लिखित जवाफ र सो जवाफसाथ संलग्न कागजातहरू एवं सर्वोच्च अदालतबाट डा. द्वारिकानाथ ढुंगेलसमेत विरूद्ध ठूला करदाता कार्यालय, ललितपुर समेत भएको रिटमा भएको व्याख्या समेतका आधारमा माथि उल्लेखित स्वामित्व परिवर्तनसम्बन्धी विषयमा प्रथम दृष्टिमा नै विचारणीय देखिँदा प्रस्तुत रिट निवेदनको अन्तिम किनारा नलागेसम्म यस अदालतबाट २०८०/०८/२१ मा जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिएको छ,’ आदेशमा भनिएको छ ।

यसअघि मलेसियन कम्पनी आजियाटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलर (६ अर्ब ६६ करोड रूपैयाँ) मा बिक्री गरेको बताएको थियो । त्यसपछि गोकुलबहादुर रोकायाले सेयर खरिदबिक्रीको कारोबारविरूद्ध उच्च अदालत पाटनमा रिट दर्ता गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *