Samajik Feed – News Portal from Nepal

काठमाडौँ, ९ माघ । नेकपा एमालेले विभिन्न क्षेत्रसँग सम्बन्धित मागसहित ७ सय ५१ बुँदे ज्ञापन पत्र सरकारलाई बुझाएको छ । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ‌ओलीले मंगलबार बालुवाटारमा जनताका मागहरू भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको संकल्प यात्राका क्रममा स्थानीयहरूले उठान गरेका विषय, एमालेको अध्ययन र अनुभवले देखाएका कुरा समेटेर ७ सय ५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र बुझाइएको छ ।

त्यसक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अभियानका क्रममा अनुभूत गरेका यहाँका सम्भावना र चुनौती समेटेर ध्यानाकर्षण पत्र बुझाएको बताए ।उनले विभिन्न ४६ क्षेत्रसँग सम्बन्धित ७५१ वटा माग बुझाएको बताए । ज्ञवालीले जसमध्ये गण्डकीबाट १६१, कोशीबाट १७०, सुदूरपश्चिमबाट १३५, वागमतीबाट ११३, कर्णालीबाट ८९, लुम्बिनीबाट ७५, मधेस प्रदेशबाट ८ वटा रहेको पनि जानकारी दिए ।

सडक, शिक्षा, पर्यटन, कृषि, फलफूल र स्वास्थ्य बढी माग रहेको ज्ञवालीले बताए । उद्योग, ऊर्जा, मोटरेबल पुल, सिँचाइ, भवन निर्माण, संस्कृति संरक्षण, भूमि व्यवस्था, बस्ती विकास, खेलकुद, जातीय विभेद, छुवाछूत र हिंसाको विरुद्ध, खानेपानी व्यवस्थापन, श्रोत संरक्षण, भूकम्पको पुनःनिर्माण, सुरुङ मार्ग निर्माण, भूक्षय नियन्त्रण, तटबन्धलगायतका विषय पनि जनताको प्राथमिकतामा रहेको उनले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *