समाजिक फीड
जनकपुरधाम, माघ ९ गते ।
यहीँ माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पुर्ण तयारी पुरा भएको छ ।
रिक्त १९ सिटका लागि हुने चुनावका लागि आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
बिहीवार विहान ९ बजेदेखि अपराह्ण ३ बजेसम्म तोकिएको मतदान स्थलमा मतदान हुनेछ ।
मधेश प्रदेशका दुई सहित कार्यकाल सकिएको १९ जना सदस्यका लागि राष्ट्रियसभा निर्वाचन हुन लागेको हो ।
प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदानमा भाग लिनेछन् ।
निर्वाचन आयोगले कानुनी व्यवस्थाबमोजिम निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न मतदान कार्य समाप्त नहुन्जेलसम्म गएराति १२ बजेपछि प्रचारप्रसार निषेधको अवधि कायम गरेको छ ।
यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृसङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नमिल्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
यस निर्वाचनमा प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ ।