समाजिक फीड
काठमाडौँ, माघ ८ गते ।
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटअन्तर्गत आज जारी खेलमा मधेश प्रदेशले सुदूरपश्चिल प्रदेशलाई ३ सय २० रनको विशाल लक्ष्य दिएको छ । युवा ब्याटर मयन यादवको शतक, अनिल साह र पवन सर्राफको अर्धशतकमा मधेश प्रदेशले यो लक्ष्य दिएको हो ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मधेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१९ रन बनायो । मधेशका मयन यादवले १२८ बलमा ८ चौका र २ छक्कासहित १ सय १५ रनको शतकीय इनिङ खेले । उनी शेर मल्लको ४८ औं ओभरको पहिलो बलमा डिप मिडविकेटमा किरण ठगुन्नाबाट क्याच आउट भए । मयनको यो करिअरको पहिलो शतक हो ।
व्यक्तिगत ५० रनमा टेक रावत र ५१ रनमा विकाश आग्रीले क्याच छाड्दै शतक यात्रा सहज बनाइदिएका थिए । मधेशका पवन सरार्फ ६३ बलमा ४ चौका र ४ छक्कासहित ७० रनमा आउट भए । ओपनर अनिल साह ७० बलमा ६ चौका र २ छक्कासहित ६९ रनमा आउट भएका थिए ।
ओपनर हरिशंकर साहलाई नारायण जोशीले १२ रनमा बोल्ड आउट गरेका थिए । दोस्रो विकेटका लागि अनिल र मयनले १०६ रनको शतकीय साझेदारी गरे । त्यसपछि पवन र मयनले १२७ रनको साझेदारी गरेपछि विशाल योगफलको आधार तय गरेका थिए ।
रुपेश सिंह २१, अभिषेक तिवारी १६, राहुल मण्डल र निरज यादवले १-१ रन बनाए । सुदूरपश्चिमका शेर मल्लले १० ओभरमा ६५ रन खर्चेर ४ विकेट लिए । विकाश आग्रीले २, नारायण जोशी र गजेन्द्र बोहराले १-१ विकेट लिए ।