काठमाडौँ, ७ माघ । काठमाडौँको शोभा भगवतीस्थित एक घरमा हत्या गरिएको अवस्थामा महिलाको शव फेला परेको छ । काठमाडौँ महानगरपालिका–१५ शोभा भगवतीमा दुई तले घरको एक कोठाभित्र गत शुक्रबार महिलाको शव फेला परेको हो ।
तनहुँको भिमाद नगरपालिका घर भई डेरा गरी बस्ने ५१ वर्षीया सफिना मियाँको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए । मियाँको गत कात्तिक पहिलो साता नै हत्या भएको खुलेको प्रहरीले बताएको छ।
भारतको मोतिहारी घर भई काठमाडौँको कालिमाटीमा बस्दै आएका ४३ वर्षीय इकराउल हक अन्सारी र मियाँ ‘लिभिङ टुगेदर’मा थिए । अन्सारीलाई प्रहरीले पक्राउ गरिसकेको छ। घर वरपर गन्ध आउन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
डेरा लिएकाहरूले लामो समय कोठा बन्द गरेपछि घरधनीले कोठा खोल्दा घटना बाहिरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । मृतक सफिना तनहुँ जिल्ला भिमाद नगरपालिका ५ की स्थानीय भएको बताइएको छ ।